काठमाडौं – राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्री बाबुराम भट्टराईलाई संविधान जारी गर्नुअघि राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्न सुझाव दिएका छन् । शीतलनिवासमा भएको भेटमा राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार बनाएर संविधान घोषणा गरे राम्रो सन्देश जाने बताएका हुन् ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलका अनुसार प्रधानमन्त्रीले पनि राष्ट्रिय सहमतिको सरकार बनाउने पहल भइरहेको जानकारी गराएका थिए । ‘म सुरुदेखि नै राष्ट्रिय सहमतिको सरकारको पक्षमा छु, बाध्यात्मक स्थितिले मात्रै बहुमतीय सरकारको नेतृत्व गर्नुपरेको हो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पौडेलले भने ।
नयाँ संविधान जारी गर्ने समय नजिकिदै गर्दा राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा केही चिसोपना बढेको भनेर टिप्पणी भइरहेका बेला भएको भेटमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई त्यस्तो सुझाव दिएका हुन् ।
एकीकृत माओवादीका लडाकु, हतियार र अस्थायी शिविरहरु नेपाली सेनाको जिम्मा लगाउने निर्णय गर्दा सरकारले राष्ट्रपतिलाई कुनै जानकारी नगराएको र त्यसबाट नेपाली सेनाका परमाधिपति समेत रहने राष्ट्र प्रमुख यादव केही असन्तुष्ट बनेको भन्ने टिप्पणीहरु आईरहेका बेला दुईजना बीच भेट भएको हो ।
राष्ट्रपति र प्रधानमन्त्रीका सहयोगीहरुका अनुसार माओवादी लडाकु र हतियार नेपाली सेनाको जिम्मा लगाउने निर्णयबारे चाहिं दुईजना बीच कुनै छलफल भएन ।
राष्ट्रपतिका स्वकीय सचिव ललित बस्नेतका अनुसार राष्ट्रपतिले कम्तीमा माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा सहभागी सरकार बनाएर संविधान जारी गरेमा सकारात्मक सन्देश जाने भएकाले त्यसतर्फ उन्मुख हुन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । राष्ट्रपति यादवले शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने अवस्थामा पुगेकोमा खुसी प्रकट गर्दै चार/पाँच दिनभित्र संविधान निर्माणमा पनि सहमति जुट्ने विश्वास व्यक्त गरे ।