काठमाडौ, वैशाख ८ – माओवादी र संयुक्त मधेसी लोकतान्त्रिक मोर्चा गठबन्धन सरकारले यो वर्ष लोकतन्त्र दिवस नमनाउने भएको छ । ऐतिहासिक शान्तिपूर्ण जनआन्दोलन-२०६२/६३ सफल भएको दिन वैशाख ११ मा सरकारले सार्वजनिक बिदासमेत नदिने निर्णय गरेको सरकारी अधिकारीले बताए ।
यो सरकारले फागुन ७ मा प्रजातन्त्र दिवससमेत मनाएको थिएन । ‘माओवादी दसवर्षे सशस्त्र युद्ध र मधेसवादी पार्टी मधेस आन्दोलनको श्रेय लिने र त्यसैमा गर्व गर्ने भएकाले कांग्रेस, एमालेसहितका सात दलको अगुवाइमा भएको जनआन्दोलनबाट लोकतन्त्र बहाली भएको दिन स्मरण गर्न नचाहेका हुन्,’ ती अधिकारीले भने ।
गृह मन्त्रालयले लोकतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिन प्रस्ताव पठाए पनि मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेको स्रोतले बतायो । तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनविरुद्ध देशभर दसौं लाख मानिस उत्रिएपछि वैशाख ११ मा लोकतन्त्र बहाली भएको हो । जनसहभागिताका दृष्टिले मुलुककै ठूलो उक्त जनआन्दोलनको उपलब्धिस्वरूप संविधानसभाको निर्वाचन हुनुका साथै गणतन्त्र आएको हो ।
सरकारले लोकतन्त्र दिवस नमनाउने निर्णय गरेर जनआन्दोलन-०६२/६३ र त्यसबाट प्राप्त ऐतिहासिक उपलब्धिको अवमूल्यन गरेको टिप्पणी ती अधिकारीले गरे ।
यसअघि सरकारले हरेक वर्ष राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलस्थित सैनिक मञ्चमा र जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विशेष समारोह गरी लोकतन्त्र दिवस मनाउने र सार्वजनिक बिदा दिने गर्दै आएको थियो । समारोहमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने परम्परा थियो । दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा समारोह समिति र मातहतमा विभिन्न उपसमिति गठन गरिन्थे ।
सरकारले फागुन ७ मा प्रजातन्त्र दिवस नमनाएपछि कांग्रेस र एमालेलगायतका दलले संसद्मा तीव्र विरोध गरेका थिए । त्यसपछि सरकारका तर्फबाट गृहमन्त्री विजयकुमार गच्छदारले प्रजातन्त्र दिवस नमनाएकामा माफी माग्दै अर्को वर्षदेखि मनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । – कान्तिपुर



