सत्तारुढ गठबन्धन दलहरु माओवादी र तराइ केन्द्रित मधेसी मोर्चाद्धारा मोर्चाबन्दी

एकीकृत माओवादी र तराइ केन्द्रित दलहरुको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सत्तारुढ गठबन्धनले मोर्चाबन्दी बलियो बनाउने निर्णय शनिबार गरेको छ।


यसअघि संविधान निर्माणमा सहमति हुन बाँकी रहेका धेरैजसो विषयमा दुई प्रमुख विपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा एमाले एकठाउँमा उभिँदै आएका थिए।




खासगरी संघीयताको स्वरुप र भावी शासकीय स्वरुपबारे एक भएर प्रस्तुत हुन माओवादी र तराइ केन्द्रित दलहरुको मोर्चाबीच सहमती बनेको बताइएको छ।


माओवादी पार्टीभित्रको असन्तुष्ट खेमाले शासकीय स्वरुप लगायतका विषयमा संस्थापन पक्षका निर्णयको विपरित भनाइहरु सार्वजनिक गरिरहेका बेला माओवादीले मधेसी मोर्चाको समर्थनको निरन्तरता खोजेको हो।


एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार गरिएको मोर्चाबन्दीको निर्णयबारे प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने, “यो सरकारको सामुहिक सहयात्री मोर्चासँग परिवर्तित परिस्थितिमा पनि सहयात्रा गर्नुपर्ने आवश्यक देखिएकाले त्यसैको विषयमा आज गंभीरतापूर्वक छलफल भएको छ।”


मोर्चाले माओवादी र आफ्ना अधिकांश मुद्दाहरु समान रहेको बताउँदै आएको छ।


बैठकमा सहभागी फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष तथा सूचना तथा संचारमन्त्री राजकिशोर यादवले माओवादी र आफूहरु परिवर्तनकारी शक्ति भएको र मुद्दाहरु समान भएकाले गठबन्धन झन मजबुत बनाउने निर्णय गरिएको बताए।

 

सत्तारुढ गठबन्धनको मोर्चाबन्दीको प्रभाव शनिबारै भएको तीन दल र मधेसी मोर्चाको संयुक्त बैठकमा परेको छनक मन्त्री यादवको भनाइबाट मिल्छ।

उनी भन्छन्, “प्रगतिशील र यथास्थितिवादीहरुबीचको जस्तो बैठक भयो। कांग्रेस, एमाले यसअघि भएका सहमतिबाट पनि पछि हट्ने प्रयत्नमा रहेपछि बैठक निष्कर्षबिहिन बन्यो।”

 

सहमति खोज्न संविधानसभाबाट दिइएको पाँचदिने समय सीमाको शनिवार चौथो दिन थियो।

संविधानसभामा रहेका राजनीतिक समुहहरुबीचको मोर्चाबन्दी र ध्रुवीकरणले दलहरुबीचको संझौता प्रक्रिया थप कठीन बन्ने कतिपयको अनुमान छ।