आज ऐतिहासिक शान्तिपूर्ण जनआन्दोलन-२०६२/६३ सफल भएको दिन लोकतन्त्र दिवस, सरकारले मनाएन

-बलराम बानियाँ

 

काठमाडौं  – सरकारले लोकतन्त्र दिवसका दिन आज सोमबार देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को पछिल्लो बैठकले लोकतन्त्र दिवसका दिन बिदा दिने निर्णय गरेको जानकारी सरकारी अधिकारीले दिए । यसअघि मन्त्रिपरिषद्ले वर्षभरिको सार्वजनिक बिदाको निर्णय गर्दा लोकतन्त्र दिवसका दिन बिदा दिएको थिएन ।

माओवादी र संयुक्त मधेसी लोकतान्त्रिक मोर्चा गठबन्धन सरकारले यस वर्ष लोकतन्त्र दिवस भने नमनाउने निर्णय भएको छ । ऐतिहासिक शान्तिपूर्ण जनआन्दोलन-२०६२/६३ सफल भएको दिन वैसाख ११ को सम्झनामा सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।

माओवादी दस वर्षे जनयुद्ध र मधेसवादी पार्टी मधेस आन्दोलनको श्रेय लिने र त्यसैमा गर्व गर्ने भएकाले कांग्रेस, एमालेसहितका सात दलको अगुवाइमा भएको जनआन्दोलनबाट लोकतन्त्र बहाली भएको दिवसलाई नमाउने निर्णय गरेको जानकारी स्रोतले दियो ।

तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनविरुद्ध देशभर दसौं लाख मानिस उत्रिएपछि वैशाख ११ मा लोकतन्त्र बहाली भएको हो, जनसहभागिताको दृष्टिले जनआन्दोलन-०६२/६३ मुलुककै सबभन्दा ठूलो आन्दोलन हो । त्यही जनआन्दोलनको उपलब्धिको बलमा मुलुकमा संघीय लोकतान्त्रिक संविधान निर्माण गर्न संविधानसभाको चुनाव भएको र २०६५ जेठमा गणतन्त्र स्थापना भएको हो ।

तर माओवादी-मधेसवादी सरकारले लोकतन्त्र दिवस नमनाउने निर्णय गरेर जनआन्दोलन-०६२/६३ र त्यसबाट प्राप्त ऐतिहासिक उपलब्धिको अवमूल्यन गरेको जानकारी सरकारी अधिकारीले नै दिएका छन् ।

यसअघि सरकारले हरेक वर्ष राष्ट्राध्यक्षको प्रमुख आतिथ्यमा टुँडिखेलस्थित सैनिक मञ्चमा र जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विशेष समारोह गरी लोकतन्त्र दिवस मनाउने गर्दै आएको थियो । समारोहमा प्रधानमन्त्रीले समारोहबाट देशबासीका नाममा सम्बोधन गर्ने परम्परा थियो ।

माओवादी-मधेसवादी सरकारले फागुन ७ मा प्रजातन्त्र दिवससमेत मनाएन । कांग्रेस र एमालेलगायतका दलले संसदमा तीव्र विरोध गरेपछि सरकारका तर्फबाट गृहमन्त्री विजयकुमार गच्छदारले प्रजातन्त्र दिवस नमनाएकामा माफी माग्दै अर्को वर्षदेखि मनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । – बलराम बानियाँ