सत्तारुढ एकीकृत नेकपा माओवादीभित्रको असन्तुष्ट पक्षका एकजना वरिष्ठ नेताले सरकार ढाल्न अविश्वास प्रस्ताव दर्ता गरिए त्यसको पक्षमा भोट हाल्ने घोषणा गरेका छन्।
विपक्षी दलहरूले अविश्वास प्रस्तावबारे छलफल थालेको बताइँदै गर्दा माओवादी सचिव सीपी गजुरेलले उक्त कुरा बताएका हुन्।
उनले भने, “प्रधानमन्त्री हटाउन कांग्रेस-एमालेले अविश्वास प्रस्ताव ल्याए भने हामीले त्यसको पक्षमा भोट हाल्छौं।”
बैठकमा सहभागी एमाले नेता भीम रावलले भने, “आपसी अविश्वास हटाउँदै नयाँ संविधानका विवाद मिलाउन सबैभन्दा पहिले राष्ट्रिय सरकार गठनको कुरा अघि बढ्नु पर्यो भन्ने कुरा भयो।”
प्रधानमन्त्री बाबुराम भट्टराईले मधेसी मोर्चासँगको गठबन्धन बलियो बनाउँदै सरकारको आयु लम्ब्याउन खोजेको भन्दै कांग्रेस-एमाले केही दिन यता सशंकित बनेका छन्।
खबरहरुमा त उनीहरुले अविश्वास प्रस्तावको विकल्पबारे समेत छलफल थालेको बताइएको थियो।
त्यो सम्भावित परिस्थितिलाई सचिव गजुरेलले फरक ढंगले व्याख्या गर्दै भने, “विपक्षीलाई साथ दिएको हुँदैन, त्यो त राष्ट्रिय सरकार गठनको बाटो खोल्ने कुरा पो हो, नत्र त त्यस्तो सरकार बन्दै नबन्ने भयो त।”
तर उनले अविश्वास प्रस्ताव दर्ता भइहाल्यो भने प्रधानमन्त्री भट्टराईले राजिनामा दिने, सामना गर्न नसक्ने पनि बताए।
दलहरुबीच गत कार्तिक १५ गते भएको सात बुँदे सहमतिमा राष्ट्रिय सरकार बनाउने उल्लेख छ।
तर शान्ति प्रकृया निर्णायक चरणमा पुगेको लामो समयपछि त्यो विषय छलफलको नयाँ मुद्दाको रुपमा उठाउनुलाई सरकार फेर्ने खेलको शुरुवातको रुपमा पनि हेरिएको छ।



