जनकपुरमा भएको बम हमला घट्नाप्रति सर्वत निन्दा


 

काठमाडौ  – जनकपुरमा सोमबार भएको बम विष्फोटमा चार जनाको मृत्यू तथा कयौं व्यक्ति घाइते भएको घट्नाप्रति विभिन्न संघ/संस्था तथा राजनीतिक दलले निन्दा गरेको छ । मृतकप्रति श्रद्धान्जलि, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

नेपाली कांग्रेसले एक विज्ञप्ती जारी गर्दै आपराधिक समूहबाट भएको कायरतापूर्ण र मानवता विरोधी घटनाको घोर निन्दा र भत्र्सना गरेको छ । घटनामा संलग्न अपराधीहरुको यथाशीघ्र खोजी गरी उनीहरुलाई कडा भन्दा कडा कार्वाही गर्न, आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति गर्न, मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरुको सम्पूर्ण उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस सरकारसँग मांग गरेको छ ।

कांग्रेस नेता विमलेन्द्र निधीले घट्नाप्रति गहिरो दुःख व्यक्त गर्दै संलग्न आपराधिक व्यक्तिलाई कडा भन्दा कडा कार्वाही गर्न तथा मृतकलाई शहीद घोषणा गर्न माग गरेका छन् । पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति दिन, घाइतेहरुको उपचारको व्यवस्था गर्न तथा घटनाको छानविनका लागि समिति गठन गर्न समेत नेपाल सरकारसँग उनले माग गरेका छन् ।

पत्रकार महासंघको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघले तरल अवस्थाको फाईदा उठाएर हमला भएको भन्दै संविधानको अन्तर्वस्तुमा विवाद गरेर समय खेर फालिरहेका राजनीतिक दलका लागि जनकपुरको घट्ना गम्भीर पाठ हुनुपर्ने भनेको छ ।

महासंघले दलहरुलाई गम्भीरतापूर्वक सहमति गरेर चाँडो संविधान जारी गरी मुलुकमा शासन व्यवस्था सामान्य बनाउन अपिल गरेको छ ।

महासचिव ओम शर्माद्वारा जारी विज्ञप्तीमा विष्फोटमा मृत्यृ भएको परिवारलाई राहत दिन र दोषी पहिचान गरी कडा कारबाही गर्न माग गरिएको छ ।

साथै, सोही घटनामा परी मृत्यु भएका नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते भएका महासंघका सभासद् अशोक दत्तको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । – कान्तिपुर