“संसार भरीका मजदुर एक हौं” भन्ने नाराका साथ आज १२३ औं मजदुर दिवस मनाइदै


 

काठमाडौं –  आज मे १ अर्थात १ सय २३ औं अन्र्तराष्ट्रिय मजदूर दिवस । मजदूरको हक अधिकारको वकालत गर्दै विश्वभर यो दिवस मनाईदै छ । नेपालका ट्रेड युनियन र मजदूरसम्बद्ध संघ संस्थाले पनि आज विविध कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । यसक्रममा राजधानीको भद्रकालीबाट नेपाल ट्रेड युनियन कांग्रेस, श्रमिक संघ, नेपाल बित्तीय संस्था कर्मचारी संघले -याली निकालेर आफ्नो अधिकारको पक्षमा आवाज उठाए । उनीहरुले नयाँ संविधानमा सामाजिक सुरक्षासहितको श्रमिक अधिकार, नीति निर्माणका सबै तहमा १० प्रतिशत श्रमिक प्रतिनिधित्व हुनुपर्ने माग पनि गरे । आजै माओवादी र एमाले सम्वद्ध मजदूरहरुले पनि छुट्टा छुट्टै कार्यक्रम गर्दैछन् । माओवादी संस्थापन पक्षका मजदूरहरुको खुलामञ्चमा, मोहन बैद्य पक्षका मजदूरहरुको बसन्तपुरमा र एमालेसम्वद्ध मजदूरहरुको भृकुटीमण्डपमा कार्यक्रम हुँदैछ । मजदूरहरुको कार्यक्रमलाई शिर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

मजदूरहरुले ८ घण्टा काम, ८ घण्टा विश्राम र ८ घण्टा मनोरञ्जन गर्न पाउनु पर्ने मागसहित सन् १८८६ मे १ देखि यो दिवस मनाउन शुरु गरिएको हो । अमेरिकाको शिकागोमा हजारौ मजदूर भेला भएर प्रदर्शन गरेपछि आन्दोलन अमेरिकी महादेश र युरोपभर फैलिएको थियो । शिकागोमा त्यतिखेरको आन्दोलनमा पक्राउ परेका ८ जना मजदूर नेताको स्मरणमा यो दिवस मनाउन थालिएको बताइन्छ । नेपालमा भने २००३ साल फागुन २१ गते विराटनगर जुट मिलमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मजदूर आन्दोलन शुरु भएको थियो । उक्त आन्दोलनमा मनमोहन अधिकारीलगायतले नेतृत्व गरेका थिए । त्यसै बेलादेखि नेपालमा निरन्तर मजदूर दिवस मनाउन थालिएको हो ।

मे दिवसकै अवसरमा कास्कीमा एमाले र काँग्रेस निकट मजदुहरुले एकै ठाउँमा र माओवादीका मजदुरहरुले छुट्टाछुट्टै कार्यक्रम गरेका छन् । एमाले निकटको नेपाल ट्रेड यूनियन महासंघ जिफण्ट र काँग्रेस निकटको नेपाल टेड यूनियन काँग्रेस स्वतन्त्रले पोखरामा -याली निकाले भने माओवादी संस्थापन र बैद्य पक्षका मजदूरले छुट्टाछुट्टै कार्यक्रम गरे । संस्थापन पक्षका मजदुरले चिप्लेढुंगामा र वैद्य पक्षका मजदूरले रामबजारस्थित पार्टी प्यालेसमा सभा गरे ।

उता, चितवनमा एकीकृत माओवादीका दुई वटै गुटले मजदुर दिवसको कार्यक्रम छुट्टाछुट्टै गरेका छन् । संस्थापन गूटले हाकिमचोकको हाटवजारमा आमसभा गरेको छ भने वैध पक्षका मजदुरले भरतपुरस्थित बीरेन्द्र क्याम्पसको प्राङ्गणमा आमसभा गरेका छन् । कार्यक्रममा दुवै पक्षले एक अर्का विरुद्ध गालीगलौज गरेका थिए । संस्थापन पक्षको सभामा उर्जामन्त्री एवं माओवादी सचिव पोष्टवहादुर वोगटी सहभागी हुनुभयो । उहाँले वैध पक्षका नेताहरुले होस गुमाएको आरोप लगाउनुभयो ।

 

अर्कोतर्फको सभालाई सम्बोधन गर्दै माओवादी पोलिटव्यूरो सदस्य नेत्रविक्रम चन्दले पुष्पकमल दाहालले जनसेनालाई कांग्रेस र एमालेको पाउमा विर्सजन गरेको आरोप लगाउनु भयो । चितवनमा माओवादीको वैद्य पक्ष संस्थापन भन्दा बलियो रहेको छ ।