कांग्रेसद्धारा प्रधानमन्त्री बाबुराम भट्टराईका विरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी

कुलचन्द्र न्यौपाने


काठमाडौ  – संविधानका विवादित विषयमा दुई दिनभित्र सहमति नभए कांग्रेसले प्रधानमन्त्री बाबुराम भट्टराईका विरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको छ । त्यसका लागि आफ्ना सभासदलाई बुधबार संसदीय दलमा ११ बजे अनिवार्य उपस्थित हुन ह्विप समेत जारी गरेको छ । तर, पार्टीभित्र कांग्रेस महामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य नरहरी आचार्य, गगन थापा, चन्द्र भण्डारीलगायतले भने अविश्वासको प्रस्ताव ल्याएर सहमतिको वातवरण बिथोल्न नहुने बताए ।

‘संविधान जेठभित्रै जारी गर्नुपर्छ र त्यसअघि राष्ट्रिय सहमतिको सरकार निर्माण हुनुपर्छ भन्नेमा कांग्रेसले निर्णय लिएको छ’ महामन्त्री सिटौलाले भने- ‘राष्ट्रिय सहमतिको सरकारका लागि पार्टीका शीर्ष नेताहरूलाई जिम्मा दिएको छ । कसरी बनाउने भन्नेबारेमा उहाँहरू बसेर छलफल गर्नुहुनेछ ।’

संसदीय दलका नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य रामशरण महतलगायतले भने माओवादी संविधान बनाउनतिर नलागेर वर्तमान गठबन्धनलाई निरन्तरता दिनेमा मात्रै जोड दिएको भन्दै अविश्वासको प्रस्ताव ल्याएर भए पनि सरकार हटाउनुपर्ने निष्कर्षमा पुगेका थिए । संविधानसभा भवनमा म‌ंगलबार दिउँसो बसेको बैठकमा पौडेलले संविधान जारी भएमा पार्टी फुट्ने देखेर पछि हटेकाले भट्टराईलाई हटाउनु पर्ने तर्क गरेका थिए ।

अविश्वासको प्रस्ताव ल्याएमा एमाले र माओवादीको मोहन बैद्य समूहले साथ दिने पौडेलको विश्वास छ । तर, सिटौलाले जेठ १४ को मुखमा अविश्वासको प्रस्ताव ल्याउने जोखिम मोल्न पार्टी हितमा समेत राम्रो नहुने धारणा बैठकमा राखेका थिए ।