दिनभरको सहमति प्रयासपछि प्रमुख तीन दल र मधेसी मोर्चा मध्यरातमा ५ बुँदे सहमतिमा पुगेका छन्। चार शीर्ष नेताहरुले हस्ताक्षर गरी २४ दिनभित्रै दुई सरकार गठन गर्ने सहमति गरेका छन्।
सहमति अनुसार सबै मन्त्रीहरुले राजीनामा दिइसकेको अवस्थामा दुई दिनभित्र प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाइनेछ। जेठ १४ अगावै प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान जारी हुनुअघि राजीनामा दिनेछन् र त्यसपछि कङ्ग्रेसको नेतृत्वमा एक वर्षभित्र चुनाव हुने गरी अर्को सरकार बन्नेछ। त्यसपछि संभवतः सुशील कोइरालाको नेतृत्वको अर्को सरकार बन्नेछ।
त्यसैगरी संविधान निर्माणमा बाँकी रहेका विवादहरु तीन दिनभित्र सहमति गरी टुङ्गोमा पुर्याउने र त्यो नभए प्रक्रियामा गई टुङ्गोमा पुर्याइने सहमति भएको छ। सहमतिको अर्को बुँदामा शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने संविधान निर्माणको कामलाई तीव्रता दिन शीर्ष नेताहरुको बैठक नियमित बस्ने भनिएको छ।
पाँच बुँदे सहमतिमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल, कङ्ग्रेस सभापति सुशील कोइराला र मधेसी मोर्चाको तर्फबाट विजयकुमार गच्छदारले हस्ताक्षर गरेका छन्।
हेर्नुस् सहमति जस्ताको तस्तै

राजनीतिक दलहरुका बिच भएको सहमति
२०६८ साल कार्तिक १५ गते भएको सात बुंदे सहमति बमोजिम संविधान निर्माण कार्यलाई सम्पन्न गर्न तथा राष्ट्रिय सहमतिको सरकार गठन गर्न राजनीतिक दलहरुका बिचमा निम्नलिखित सहमति भएको छ :
१) बर्तमान मन्त्रिपरिषद्का सवै सदस्यहरुले राजीनामा गरिसकेको वर्तमान स्थितिमा दुई दिन भित्र विगतमा भएको सात बुँदे सहमति बमोजिम प्रधानमन्त्री डा. बावुराम भट्टराईको नेतृत्वमा सहमतिको नयाँ सरकार गठन गरिने छ।
२) संविधान निर्माणका क्रममा देखिएका राज्यको पुनःसंरचना, शासकीय स्वरुप लगायतका सवै विषयहरुलाई तीन दिन भित्र सहमतिमा टुंग्याईने छ। सहमति हुन नसकेका विषयहरुलाई प्रक्रियाबाट निर्णयमा लगिने छ।
३) २०६९ साल जेष्ठ १४ गते अगावै नयां संविधान घोषणा गरिने छ। संविधान घोषणा गर्नु अघि बर्तमान प्रधानमन्त्रीले राजीनामा गरी नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिने छ। यो सरकारले एक बर्ष भित्र राष्ट्रिय आम निर्वाचन सम्पन्न गराउने छ।
४) शान्ति प्रक्रियाका बाँकी कामहरु बिगतका सहमति बमोजिम अविलम्व सम्पन्न गरिने छ।
५) संविधान निर्माणको कामलाई तीब्रता दिन राजनीतिक दलका शीर्ष नेताहरुको नियमित रुपमा बैठक गरिने छ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’, सुशील कोइराला, झलनाथ खनाल, विजयकुमार गच्छदार
मिति- २०६९।१।२१
मन्त्रीहरुले राजीनामा दिए
सहमति हुने नहुने भन्ने विषयमा दिनभरीको चलखेलपछि राति साढे १० बजे मधेसी मोर्चा र माओवादीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुले सामूहिक राजीनामा प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष बुझाएका छन्।