प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा अखण्ड सुदूरपश्चिमका आन्दोलनकारीलाई वार्तामा आउन औपचारिक आग्रह

काठमाडौ  – प्रधानमन्त्री बाबुराम भट्टराईले वार्ताको माध्यमबाट समस्या सामाधान गर्न अखण्ड सुदूरपश्चिमको माग गरेर आन्दोलन गरिरहेकाहरुलाई आग्रह गरेका छन् । उनले सोमबार आन्दोलनकारीलाई वार्तामा आउन औपचारिक आग्रह गरेका हुन् ।

एमाले संसदीय दलको कार्यालयमा भएको तीन दलको बैठक स्थलबाटै भट्टराईले वार्ताको आव्हान गरेका छन् । तीन दलको बैठकमा सुदूरपश्चिमको मागका विषयमा गम्भीर ढंगले छलफल भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । उनले बन्द फिर्ता लिएर सम्वादबाट समस्याको समाधान खोजिनुपर्नेमा जोड दिएका छन् ।

यसअघि दुई दिन अगाडि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइरला र एमाले अध्यक्ष झलनाथ खनालले संयुक्त रुपमा प्रेस विज्ञप्ती मार्फत बन्द फिर्ता लिएर वार्तामा आउन आग्रह गरेका थिए । नेताहरुको आग्रह विपरीत सुदूरपश्चिममा बन्द यथावत छ । ११ दिन देखि जारी बन्दले त्यसक्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

माओवादीले प्रस्ताव गरेको संघीय संरचनामा सुदूरपश्चिमबाट कंचनपुर र कैलालीलाई छुट्याईकोमा अखण्ड सुदूरपश्चिमको माग गर्दै त्यस क्षेत्रमा आन्दोलन सुरु भएको हो ।  – कान्तिपुर