नेताहरुले एक अर्कालाई आरोप लगाउँदै, कांग्रेस-एमालेले माओवादी र मधेसवादीले जातीय विखण्डन ल्याउनेगरी संघीयता खोजेको भन्दै रुष्ट


काठमाडौं  – राज्य पुनर्संरचनामा केन्द्रित दलहरुको छलफल बुधबार मध्यरातमा पनि सहमतिमा पुग्न सकेन । बैठकबाट बाहिरिएका नेताहरुले एक अर्कालाई आरोप लगाउँदै निस्किए ।


माओवादी र मधेसवादीले कांग्रेस-एमालेले एकल पहिचानलाई स्वीकार नगरेको आरोप लगाए भने कांग्रेस-एमालेले माओवादी र मधेसवादीले जातीय विखण्डन ल्याउनेगरी संघीयता खोजेको भन्दै रुष्ट भए ।


एमाले उपाध्यक्ष बामदेव गौतमले माओवादी र मधेसवादीलेले मुलुकमा एउटा जातिलाईमात्र पहिचान मानेर विखण्डन ल्याउन लागेको आरोप लगाए । उनले कांग्रेस-एमालेले बहुजातीय प्रदेशको बटमलाइन प्रस्तुत गरेको बताए ।


कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सहमति नबिथोलिएको भन्दै बिहीबार बिहान पुनः छलफल गर्ने बताए । ‘केही बिग्रिएको छैन भोलि बिहान फेरि बस्छौं,’ उनले भने ।


माओवादी नेता वर्षमान पुनले संख्याभन्दा पनि पहिचानका विषयमा सहमति नभएको बताए । दिउँसो ५ बजेदेखि सुरु भएको बैठक राति पौने १२ बजे सकिएको थियो ।


 

संवैधानिक विवाद मतदानमा जाने

 

दलहरुबीच सहमति जुट्न नसकेपछि संविधानका विवादित विषय टुङगाउन बिहिबारदेखि संविधानसभामा मतदान प्रक्रिया शुरु हुने भएको छ।

बिहिबार बिहान सम्ममा सहमति नभए दिउसो शुरु हुने संविधानसभाको बैठक मार्फत विवादित विषयहरूलाई मतदान प्रक्रियामा लैजाने र त्यहाँबाट समाधान खोज्ने नेताहरुले बताए।




संविधानका विवादित विषय समेटिएको सूची संबैधानिक समितिले आफ्ना सदस्यहरुलाई उपलब्ध गराएको छ।


संघीय ढाँचा र शासकीय स्वरुप लगायत संविधानका एकसय सत्रवटा विवादित विषयमा सहमति जुटाउने भन्दै संविधानसभाका बैठकहरु पटक पटक सार्न बाध्य पार्दै आएका प्रमुख दलका शीर्ष नेताहरु मतदान प्रक्रियामा जान सहमत भएका हुन्।