व्यवस्थापिका संसदको प्रमुख प्रतिपक्षी दल मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले अगुवाइ गरिरहेको सडक आन्दोलनमा सत्तारुढ दलकै नेताहरुले साथ दिएका छन्।
यादव नेतृत्वको बृहद मधेसी मोर्चा र जनजाती संघर्ष समितिले सडक आन्दोलन चर्काउने घोषणा एकिकृत नेकपा माओवादीको संसदीय दलको कार्यालयमा गरिएको थियो।
उक्त कार्यक्रममा माओवादीका कतिपय सभासद र प्रधानमन्त्रीकै प्रेस सल्लाहकार रामरिझन यादव पनि थिए।
प्रधामन्त्रीका प्रेस सल्लाहकार यादवको भनाइ थियो, “हो, हामी आफ्नो पार्टीको निर्णय विरुद्ध उत्रिएका छौं, ११ प्रदेशमा जाने निर्णय पार्टी हित विपरित भएकाले त्यो सच्याउन दवाव दिन आन्दोलनमा उत्रिएका हौं।”
फोरम नेपाल र फोरम लोकतान्त्रिकका नेताहरुबीच पार्टी फुट्दादेखि नै पानी बाराबारको स्थिति थियो।
उनको भनाइ थियो, “प्रधानमन्त्रीले ११ प्रदेशको सहमतिबाट पछि हट्न हामीलाई दिएको वचनको सम्बोधन नगरेकोमा हामी असन्तुष्ट छौं।”
प्रधानमन्त्री भट्टराईले अघिल्लो मन्त्रिपरिषदका एकजना मन्त्रीको पार्टीले बन्दको कार्यक्रम घोषणा गर्दा उनलाई आन्दोलन फिर्ता लिन अन्यथा मन्त्रीबाट हटाउने चेतावनी दिएको खबर आएको थियो।
तर पछिल्लो पटक कांग्रेस र एमालेसँगको ११ प्रदेश सम्बन्धी सहमति विरुद्ध चर्को दवाव परेपछि माओवादी नेतृत्व नै त्यसमा पुनर्विचार गर्ने मनस्थितिमा पुगेको देखिन्छ।
त्यसबारे कांग्रेस र एमालेसँग उसले छलफल जारी राखेको छ।



