माओवादी पुष्पकमल दाहाल दश जिब्रोका कलियुगका रावण भएको टिप्पणी

काठमाडौं  – यूवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले माओवादी अध्यक्ष पुष्पकमल दाहाल कलियुगका रावण भएको टिप्पणी भएका छन् ।

‘रावणका दशमुख भएको ग्रन्थहरुमा पढेका थियौं,’ रिपोर्टर्स क्लवमा सोमबार उनले भने, ‘प्रचण्ड पनि कलियूगका रावण हुन्, उनका दश जिब्रो छन् ।’ दाहालले मान्छे पिच्छे फरक फरक अभिब्यक्ति दिँदा मुलुकमा जातीय द्वन्द्व बढेको उनले आरोप लगाए ।

दाहालले भावना बगेर मुलुकलाई कता पुर्‍याउन खोजेका छन् भनि प्रश्न गर्दै बस्नेतले भोलिका दिनमा उनले विदेशमा गएर आश्रय लिएर ज्यान जोगाउने दिन आउने चेतावनी दिए ।

भारतीय काउन्सिलर एसडी मेहताले बोलेको समाचार प्रशारण गर्ने सञ्चारमाध्यम आक्रमणको तारो बनेको भन्दै उनले नेपालमा जातीय द्वन्द्व भडकाउन भारतीय र यूरो रुपैया कति खर्च भएको त्यो खोज्ने बेला आएको उनले बताए ।

प्रधानमन्त्रीले जातीय आन्दोलनमा श्रीमती पठाउने र आफै उठाएको आन्दोलनमा मिडियामाथि भएको आक्रमणमा अर्थहिन गोहीको आँशु चुहाउने गरेको आरोप लगाउँदै त्यस्तो दुई जिब्रे ब्यवहार गर्न सुझाव बस्नेतले दिए।

अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेलले पत्रकारमाथि आक्रमण भएको आक्रमणको भत्र्सना गर्दै कलम बोकेर हिड्ने पत्रकारलाई आक्रमण हुनु लोकतन्त्रमाथिकै आक्रमणको संज्ञा दिए ।

भारतीय कुटनीतिज्ञले नेपालमा जातीय आन्दोलन चर्काउन दिएको सुझाव नेपालको सार्वभौमसत्तामाथिको आक्रमण भएको भन्दै उनले त्यस्तालाई तत्कालै फिर्ता पठाउन माग गरे ।

नेविसंघका अध्यक्ष रञ्जित कर्णले सामाजिक सदभाव भड्काउन खोज्ने विरुद्ध सचेत रहन आग्रह गर्दै सस्तो जातीय नाराले मुलुक मुलुक विखण्डन हुने आशंका ब्यक्त गरे ।

तरुण दलका अध्यक्ष उदयसमशेर राणाले आन्दोलनको क्रममा सडक र रिपोर्टर्स क्लब नेपालमा भएको मिडियामाथिको आक्रमणको निन्दा गर्दै आक्रमणलाई लोकतन्त्रमाथिको आक्रमणको संज्ञा दिए ।

चार यूवा विद्यार्थी संगठनले पछिल्लो समयमा मुलुकको जातीय सदभाव खलबलिन थालेको दावी गर्दै जातीय सदभाव कायम गर्न आग्रह गर्दै आगामि जेठ १० गते बृहद सदभाव र्‍याली गर्ने घोषणा पनि पत्रकार सम्मेलनमा गरे । –कान्तिपुर