फेरी प्रमुख तीन दल र मधेसी मोर्चाबीच बसेको बैठक निश्कर्षविहीन

– माधव ढुङ्गेल, नागरिक

 

 काठमाडौं – संविधान जारी गर्ने समय सीमा केही घण्टा मात्र बाँकी रहँदा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ३ दल र मधेसी मोर्चाको बैठक निष्कर्षविहीन टुङ्गिएको छ।

बैठकपछि नेपाली कङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले ८ वा १४ प्रदेशमा जान सकिने तर त्यसको नामाङ्कन र सीमाङ्कन भने रुपान्तरित संसदले गर्नुपर्ने अडानमा कुरा नमिलेपछि बैठक निश्कर्षविहीन भएको बताए।

 

यसैबीच व्यवस्थापिका संसद र संविधान सभाको आज बस्ने भनिएको बैठक सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित गरिएको छ। संविधान सभाको बैठक बिहान ११ बजे व्यवस्थापिका संसदको बैठक साढे ११ बजे बस्ने भनिएको छ।

शासकीय स्वरुप र सङ्घीयताबारे दलहरु निकै नजिक पुगेको भन्ने चर्चा बीचमा चले पनि बैठक बिना निष्कर्ष टुंगिएको हो। यसअघि प्रमुख दलका शीर्ष नेतामात्र सम्मिलित हुने यस्तो बैठकमा आज सभामुख सुभाषचन्द्र नेम्वाङसमेत सहभागी थिए। यही कारण पनि आज दलहरु संविधान निर्धारित समयमै जारी गर्नेबारे केही गम्भीर भएको अनुमान गरिएको थियो।