उनका अनुसार संविधानसभा भवन नयाँबानेश्वरमा भइरहेका र्याली, घेराउ, विरोधसभाजस्ता कार्यक्रमलाई दृष्टिगत गर्दै प्रहरी नायब उपरीक्षक बसन्त पन्त र शान्ति बस्नेतको नेतृत्वमा ६४० जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
राजधानीमा केही समयअघिदेखि बढाइएको सुरक्षाकर्मीको सङ्ख्यामा आजबाट वृद्धि गरी नेपाल प्रहरीका तीन हजार ४००, सशस्त्र प्रहरीका एक हजार ४०० र सादा पोसाकका २०० जनाभन्दा बढीको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता सिंहले बताए।
प्रहरीले राष्ट्रपति भवन शीतलनिवास, उपराष्ट्रपति भवन कान्तिपथ, प्रधानमन्त्रीनिवास बालुवाटार, राजनीतिक दलका शीर्ष नेताहरुको आवासलगायत उच्च पदाधिकारीहरुको निवासवरपर पनि २० सै घण्टा तालिम प्राप्त कुकुरसहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।
संविधान जारी गर्ने समय नजिकिँदै गर्दा विभिन्न जातीय मुद्दासम्बन्धी माग राख्दै राजधानीमा विगत दुई सातादेखि प्रदर्शन, र्याली, विरोधसभाजस्ता गतिविधि बढ्दै गएपछि प्रहरीले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्दै आइरहेको छ।
प्रहरीले राजधानीका विभिन्न ठाउँमा बम डिस्पोजल टोली, पानीको फोहरा फ्याँक्ने ट्याङ्कर, ठूलाठूला प्रहरी भ्यानहरु पनि तैनाथ गरिएको जनाएको छ। रासस



