वैद्य पक्षका नेताहरु बिनाको माओवादी बैठकद्धारा सरकारले घोषणा गरेको संविधानसभाको निर्वाचनमा अरु दलहरु सहमत हुनुपर्ने निष्कर्ष

काठमाडौँ – एकीकृत नेकपा (माओवादी) को स्थायी समितिको बैठकले सरकारले घोषणा गरेको संविधानसभाको निर्वाचनमा अरु राजनीतिक दलहरु सहमत हुनुपर्ने निष्कर्ष निकालेको छ।

 

पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको बैठकले दलहरुको बीचमा सहमति जुट्न नसक्दा सङ्घीयताको विषय टुङ्ग्याउन नसकिएको र सोही कारण संविधान बन्न नसकेको निष्कर्ष निकाल्दै सरकारले गरेको घोषणा जायज भएको सो पार्टीका प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए।

नेपाली कङ्ग्रेस र नेकपा (एमाले) सङ्घीयताको विषयमा प्रष्ट नभएका कारण संविधान बन्न नसकेको आरोप लगाउँदै प्रवक्ता शर्माले नयाँ जनादेशमा जान्नौँ भन्नु लोकतन्त्रकै उपहास हो भने।


तोकिएको समयमै नयाँ संविधानको निर्वाचन गरिसक्ने र जनताबाट निर्वाचित प्रतिनिधिले अहिले थाँती रहेका विषयहरुलाई टुङ्ग्याउने उनको भनाइ थियो।


अरु राजनीतिक दलहरुसँग वार्ता र छलफल जारी राख्ने निर्णयसमेत एमाओवादीले गरेको उनले बताए।


बैठकमा उपाध्यक्ष मोहन वैद्य पक्षका नेताहरुको भने सहभागिता थिएन। रासस