एमाले पासाङ शेर्पाले राजीनामा दिए

काठमाडौ  – एमाले विदेश विभाग सदस्य एवं निवर्तमान सभासद् पासाङ शेर्पाले बुधबार राजीनामा दिएका छन् । उनी एमालेको लोकतान्त्रिक आदिवासी जनजाति महासंघका महासचिवसमेत थिए ।

एमाले नेताहरुले आदिवासी जनजातिको पक्षमा नउभिएको भन्दै संविधानसभा विघटनलगत्तै राजीनामा दिने घोषणा गरेका उनले बुधबार मेची अञ्चल सम्पर्क कमिटीमार्फत केन्द्रमा राजीनामा पत्र बुझाएका हुन् । शेर्पा एमाले कोटामा मन्त्रिपरिषद्‍द्वारा मनोनित सभासद् हुन् ।

शेर्पा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष हुन् भने संविधानसभामा आदिवासी जनजाति सभासद् सभा (ककस) गठनका पहलकदमी गर्ने मध्येका हुन् । उनले संविधानसभा विघटन हुनुमा आफ्नै पार्टीमा प्रमुख दोषी रहेकोसमेत आरोप लगाएका छन् ।

‘पार्टी नेतृत्वले जातीय पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान ल्याउनमा अवरोध गरेकाले पार्टी परित्याग गरेको हुँ’ उनले भने । उनले एमाले चित्रबहादुर केसी नेतृत्वको जनमोर्चा र कमल थापा नेतृत्वको राप्रपा नेपाल जस्तै भएको पनि आरोप लगाए ।

शेर्पाले एमाले पार्टी छाडे पनि नयाँ पार्टी भने गठन नगर्ने बताए । आदिवासी जनजातिहरु एक हुनुपर्ने भएकोले राष्ट्रिय खालको मोर्चा निर्माण गर्न आवश्यक रहेको उनले औँल्याए ।



 

 

कान्तिपुर