देशमा राजनीतिक अन्यौल छाइरहेको बेला सर्वोच्चका न्यायाधीश रणबहादुर बमको राजधानीमा गोली हानी हत्या


काठमाडौ । देशमा राजनीतिक अन्यौल छाइरहेको बेला अज्ञात समूहले प्रहार गरेर घाईते बनाएका सर्वोच्चका न्यायाधिस रणबहादुर बमको निघन भएको छ । उनको राजधानीको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । आक्रमणमा चार गोली लागेका बमको शरिरबाट गोली निकालिए पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

 

राजधानीको शंखमुलको यूएन पार्क नजिक दुई वटा पल्सर मोटरसाईकलमा आएका अज्ञात ब्यक्तिले वा ८ च ९८५३ नम्बरको सेतो निजी कारमा सवार न्यायधिस बममाथिमा गाडि बाहिरबाटै गोली प्रहार गरेको थियो । अध्याधिक रक्त श्राबका कारण रगत गएर मुटु र फोक्सो जमेपछि बमलाई बचाउन नसकिएको डा भारत रावलले जानकारी दिएका छन् ।



न्यायाधिस बमलाई बंगलामुखी दर्शन गरेर अदालत तर्फ जाने क्रममा विहान ११ बजेर ८ मिनेट गोली प्रहार गरिएको थियो । घटनामा उनका अंगरक्षक महेश गिरी र हास्य कलाकार दिपकराज गिरीका पिता राम गिरी पनि घाईते भएको बताईएको छ । गाडिका चालक भने सकुसल रहेका छन् । गिरीलाई घाटीमा र न्यायाधिस बमलाई कोखामासहित चार वटा गोली लागेको थियो । गोली चलेपछि स्थानीय बासिन्दाले घाईतेलाई उद्दार गरी अस्पताल भर्ना गराएका थिए । अहिले सो क्षेत्रलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।


घटना स्थलमा नेपालबाद पार्टीका अमर नेपालको नामबाट जारी अमर नेपाल जिन्दाबाद लेखिएको पम्प्लेटहरु भेटिएको छ । गोली हान्ने ब्यक्ती भने गोली हानेर जागलतर्फ भागेको बताईएको छ ।

 

न्यायाधिस बममाथि न्यायापरिषदले महाअभियोग लगाउने निर्णय गरेको थियो । त्यसपछि उनी जिम्मेवारी विहीन बनाईएका छन् । उनी अदालतमा हाजिर गरेर फर्कने गरेका छन् ।


यता बमसँगै गाडिमा सवार हास्यकलाकार दिपकका बुबालाई पनि गोली लागेको छ । उनको पेटमा गोली लागेको छ । हास्यकलाकार गिरीले हिजो नै न्यायधिस गिरीको घरमा आफ्ना बुबा बसेको र आज बंगलामुखीको दर्शन गरी फर्कने क्रममा सँगै गाडिमा रहँदा प्रहार गरिएको गोली लागेको जानकारी दिए । एउटा गोली लागेका गिरीलाई घटना लगत्तै अल्का अस्पतालमा उपचारकोलागी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि अहिले नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।





सर्वोच्चका न्यायाधीश बमलाई गत मंसिरमा न्यायपरिषद्‌ले सर्वसम्मतिले महाभियोगको प्रस्तावमार्फत कारबाही गर्न सिफारिस गरेको थियो। तर संसदले महाभियोग प्रस्तावसम्बन्धी कुनै कारबाही अघि बढाउन सकेको थिएन।

बमको विवादास्पद फैसला डा भक्तमान श्रेष्ठको चर्चित अपहरण कान्डसँग पनि जोडिन्छ। भरतपुर क्यान्सर अस्पतालका डा. भक्तमान श्रेष्ठका अपहरणकर्ताले अघिल्लो अपहरण र हातहतियार मुद्दाबाट छुट्न खर्च गरेको ७० लाख रुपैयाँ उठाउन उनलाई अपहरण गरेको बयान प्रहरीमा दिएका थिए। त्यो तथ्य सार्वजनिक भएपछि प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको सक्रियतामा न्यायाधीशमाथि छानबिन प्रारम्भ भई न्यायपरिषद्ले सर्वोच्च अदालतकै न्यायाधीश बलराम केसीको समितिबाट छानबिन गरायो।


विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीले यस विषयमा कान्तिपुरमा लेख लेखेका थिए। त्यसमा लेखिएको थियो-



सञ्जय श्रेष्ठ, रोहित पालिवाल अग्रवाल र भीमसेन पण्डितलाई ३ वर्ष कैद र जरिवानासमेत गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंको २०६४ चैत २० को फैसलाउपर प्रतिवादीहरूको पुनरावेदनमा सरकारी वकिलबाट पुनरावेदन पर्ने म्याद बाँकी छँदै १ लाख रुपैयाँ जरिवाना मात्र गरेर कैद गर्न नपर्ने गरी पाटन पुनरावेदन अदालतका तत्कालीन मुख्य न्यायाधीश रणबहादुर बम र न्यायाधीश हरिबहादुर बस्नेतको इजलासबाट सुरु फैसला २०६५ साउन २३ मा केही उल्टी गरी अपहरणकारीलाई जेलमुक्त गराएको अभियोग न्यायाधीशहरूमाथि लागेको छ। यी तीनैजनाले कैदबाट छुटेको २ वर्षपछि २०६७ जेठ ४ मा भरतपुर मेडिकल कलेजका प्रमुख श्रेष्ठलाई अपहरण गरेका थिए।


न्यायाधीशको कामकारबाही सम्बन्धमा कार्यक्षमता अभाव, खराब आचरण, इमानदारीपूर्वक पदीय कर्तव्य पालना नगरेको र कानुनको त्रुटिपूर्ण व्याख्या गरेको भन्ने न्यायाधीश बलराम केसीको छानबिनको प्रतिवेदनलाई न्यायपरिषद्ले अनुमोदन गरी कारबाही प्रक्रिया अघि बढायो । प्रयोग हुनै नसक्ने कानुनको प्रयोग, कानुनको संदिग्ध व्याख्या र तजबिजी अधिकार दुरुपयोग, पदीय कर्तव्य इमानदारीपूर्वक निर्वाह नगरेको र बलपूर्वक व्याख्या गरी अभियुक्तहरूलाई जरिवाना मात्र र न्यून धरौटीमा सुविधा दिएको भन्ने तीनैजना न्यायाधीशमाथि परिषद्ले आरोप लगाएको छ ।


छानबिन गर्दाको अवस्थामा भने न्यायाधीश बम सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा बहाल भएको अवस्था छ । सर्वोच्च अदालतको न्यायाधीशमाथि महाभियोगबाहेक अन्य कारबाही गर्न सकिने संवैधानिक व्यवस्था रहेको पाइँदैन ।


 

गोली हान्ने समूहलाई २४ घण्टाभित्र पक्राउ गरेर कानूनी कठघरमा उभ्याउने प्रतिबद्धता

 

काठमाडौ । गृहमन्त्री विजयकुमार गच्छदारले सर्वोच्चका न्यायाधिस रणबाहादुर बममाथि गोली हान्ने समूहलाई २४ घण्टाभित्र पक्राउ गरेर कानूनी कठघरमा उभ्याउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।


उनले गोली प्रहार गर्ने समूहलाई पक्राउ गर्न ठूलोमात्रामा प्रहरी परिचान गरिएको भन्दै अपराधीलाई कुनै पनि हालतमा उन्मुक्ती नदिईने बताए । बमको अवस्था बुझ्न नर्भिक अस्पतालमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख, प्रधानन्यायाधिस सहितका सर्वोच्चका न्यायाधिसहरु पुगेका थिए ।


यसैवीच प्रधानमन्त्री डा बाबुराम भट्टराईले गृहमन्त्री विजयकुमार गच्छदार, गृहसचिव शुशिल जंग राणा र प्रहरी प्रमुख रविन्द्र प्रताप शाहलाई टेलिफोन गरेर बममाथि आक्रमणको घटनाको तत्काल छानविन गरेर अपराधीलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।


प्रधानमन्त्रीले राष्ट्रपति डा रामबरण यादवलाई टेलिफोन गरेर घटनाबारे जानकारी गराउँदै अपराधी तत्काल पक्राउ गरी कारवाही गर्ने विश्वास ब्यक्त गरेका थिए ।


यता प्रधानमन्त्रीले राजधानी सहित मुलुकको सुरक्षा अवस्थाको विषयमा छलफल गर्न प्रधानमन्त्रीले सुरक्षा समितिको बैठक बोलाएका छन् ।

 

RSS