प्रतिपक्षी दलहरुद्धारा सरकारविरुद्धका आन्दोलन कार्यक्रम घोषणा, प्रधानमन्त्रीलाई विदेश जान नदिन विमानस्थल घेराऊ गरिने

– सरकारविरुद्ध आन्दोलन गर्दै आएका विपक्षी दलहरुले वर्तमान सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीहरु उपस्थित कार्यक्रम बहिस्कारलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । आन्दोलनका कार्यक्रम तय गर्न एमाले मूख्यालय बल्खुमा बसेको लोकतान्त्रिक अभियान आन्दोलन संचालन समितिको बैठकले असार ५ देखि २५गतेसम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जसमा असार ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल घेरउ गरेर प्रधानमन्त्रीलाई विदेश जान नदिने घोषणा गरेका छन् । त्यस्तै विपक्षी दलहरुले वार्ताको लागि पहिलो शर्त प्रधानमन्त्रीले पद छोड्नुपर्ने रहेको उल्लेख गरेका छन् ।

 

काठमाडौं – कांग्रेस-एमालेसहितका प्रतिपक्षी दलहरुले सरकारविरुद्धका आन्दोलन कार्यक्रम घोषणा गरेका छन् ।

 

राजधानीमा शनिबार बसेको २७ दलको बैठकले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग गर्दै आन्दोलन कार्यक्रम घोषणा गरेका हुन् । असार ५ देखि २५ गतेसम्मका कार्यक्रममा कोणसभा, राँके जुलुस, घेराउ लगायत छन् ।

 

विपक्षी दलले प्रधानमन्त्री भट्टराई ब्राजिल सम्मेलनमा जाँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालोझण्डा देखाउनेछन् ।

 

२७ दलको बैठकले कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले महासचिव ईश्वर पोखरेल र राप्रपा महामन्त्री दीपक बोहोरा रहेको तीन सदस्यीय आन्दोलन परिचालन समन्वय समिति गठन गरेको छ ।

 

सरकारका मन्त्री उपस्थित कार्यक्रम बहिस्कार गर्ने, कालोझण्डा प्रदर्शन गर्ने, गाउँस्तरमा संविधानसभा भंग हुनुको कारणबारे जागरण अभियान चलाउने लगायत छन् । त्यस्तै जिल्लास्तरमा सर्वदलीय अन्र्तक्रिया गर्ने कार्यक्रम पनि तय गरिएको कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । वर्तमान सरकारले घोषणा गरेको निर्वाचन असंवैधानिक भएको भन्दै कांग्रेस, एमाले लगायतका २७ दल राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेसहितका माग बोकेर आन्दोलन गर्दै आएका छन् ।