मोहन बैद्य पक्षकै कारण संविधानसभा विघटन भएको माओवादी हरिबोल गजुरेलको आरोप

– शंकर खरेल

 

इटहरी – माओवादीका पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले मोहन बैद्य पक्षकै कारण संविधानसभा विघटन भएको बताएका छन् । बैद्य समूहले सहयोग गरेको भए संविधानसभाबाट केही विषयलाई थाँती राखेर भएपनि संविधान आउन सक्ने अवस्था रहेको बताए ।

‘बैद्य समूहको असहयोगले नै संविधानसभा विघटन भएको हो’ उनले भने, ‘पार्टी फुट्छ की भनेर अध्यक्ष प्रचण्डले धेरै ‘कम्परमाइज’ गर्नुभयो तर,बैद्य पक्ष अन्ततः फुटबाट जुटमा अग्रसर हुन सकेन ।’

गजुरेलकै शब्दमा बैद्य समूहले संस्थापन पक्ष जे काममा अघि बढे पनि ‘नो’ भन्ने गरेको बताए । उनले भने,’संविधान बनाउ भन्दा पनि हुन्न, संविधानसभा विघटन भयो हामीलाई नै दोष केही गर्दा सुख पाइएन ।’

बैद्य समूहले सहयोग गरेको भए तोकिएको समयमै संविधान आउने र शान्ति प्रकृया निष्कर्षमा पुग्ने गजुरेलले उल्लेख गरे । पार्टी एकताका लागि संस्थापन पक्षले हरसम्भव प्रयास गर्ने बताउँदै उनले आफ्नै पार्टीको नेतृत्वमा गठित सरकारलाई समेत असफल पार्ने कार्य वैद्य समूहले गरेर अराजनीतिक क्रियाकलाप गरेको आरोप लगाए ।

सगरमाथा आरोहण गर्ने माओवादीका शिव डाँगी र मदन चुडाँललाई सुनसरीको इटहरीमा आइतबार सम्मान गर्दै गजुरेलले समस्या समाधानको एउटै उपाय निर्वाचन भएकाले कांग्रेस र एमालेलगायतका दलले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

‘निर्वाचनमा गएर ताजा जनादेश लिएपछि कसको तागत कति हो थाहा भइहाल्छ’ उनले बैद्य समूहले कांग्रेस र एमालेलाई उचालेको आरोपसमेत लगाए । अदालतको आदेश अनुसार जनादेश लिन कांग्रेस र एमालेलगायतका दल किन हिच्किच्यारहेका हुन बुझ्न नसकेको बताउँदै उनले शान्तिपूर्ण राजनीति र संकट निकासका लागि माओवादी प्रमुख दलहरुसित सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

देशमा यतिबेला अग्रगमन र प्रतगमनको शक्ति संघर्ष सुरु भएको उल्लेख गर्दै गजुरेलले यो संघर्षमा एमाओवादीले अरुलाई परास्त गर्ने दावी गरे । ‘अहिलेको अवस्था भनेको शक्ति कसको हातमा जान्छ भन्ने हो’ उनले भने-‘जसले सक्छ उसैको हुन्छ । र, पनि हामी सहमतिकै पक्षमा छौं ।’

सडकको आन्दोलन छाडेर सहमतिमा आउन आव्ह्रान गर्दै गजुरेलले बजेट नै ल्याउन नदिने, राज्य संयन्त्रनै ठप्प पार्ने क्रियाकलापलाई सरकारले चुप लागेर नसहने विचार व्यक्त गरे ।

कार्यक्रममा सगरमाथा आरोही डाँगी र चुडाँलले आफुहरु सगरमाथाको चुचुरोमा पुगेपनि संविधानसभा विघटन भएको खबर सोलुमै पाउँदा ज्यादै चिन्तित भएको बताएका थिए ।