किन भयो विभाजन एकीकृत नेकपा माओवादी?

माओवादी शान्ति प्रक्रियामा आएदेखि नै वैद्य पक्ष असन्तुष्ट रहँदै आएको थियो । २०६२ सालमा भएको चुनबाङ बैठकले लिएको लोकतान्त्रिक गणतन्त्रको कार्यदिशाप्रति भित्री रूपमा असहमत थियो । त्यसबेला वैद्य भारतको सिलगुढी जेलमा रहेकाले उनले त्यो बैठकमा भाग लिन पाएनन् र खास विरोध हुन पाएन ।


जनआन्दोलन-२ पछि पनि उपाध्यक्ष मोहन वैद्य र सचिव सीपी गजुरेल भारतको जेलमै रहे । त्यतिबेला अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराईलगायत नेता राजधानी आएर कांग्रेस-एमालेसँग धेरै सहमति गरिसकेका थिए । २०६३ मंसिरमा विस्तृत शान्ति सम्झौता गरेपछि वैद्य पक्ष झनै बिच्कियो । किनभने त्यही सम्झौताले सशस्त्र युद्धलाई औपचारिक रूपमा समाप्त गरेको थियो । केन्द्रीय समितिबाट उक्त सम्झौता पारित नगराई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग सम्झौता गरेको भन्दै वैद्य पक्षले विरोध गर्दै आएको थियो । २०६५ मंसिरको खरिपाटी बैठकमा वैद्यले दाहालविरुद्ध जनविद्रोहको कार्यदिशा ल्याएपछि अन्तरसंघर्षले चर्को रूप लिएको थियो । त्यसबेला दाहालले वैद्यका जनविद्रोहलगायत विषय समेटेर एकीकृत दस्तावेज बनाएपछि विवाद केही साम्य भएको थियो । २०६७ मंसिरमा गोरखाको पालुङटार बैठकमा वैद्यले पुनः अर्को दस्तावेज राखे, जनविद्रोहकै कार्यदिशा लिएर । धेरै विषयमा दाहाल र वैद्यको एकरूपता देखियो भने अर्का उपाध्यक्ष बाबुराम भट्टराईले शान्ति र संविधानको पक्षमा फरक दस्तावेज राखे । त्यसपछि केही समय दाहाल र वैद्य सँगै रहे । गत भदौमा भट्टराई प्रधानमन्त्री बनेपछि संस्थापन र वैद्य पक्षबीच दूरी बढेको हो । भट्टराई सरकारमा गएर शान्ति प्रक्रियाका काम अघि बढाएपछि वैद्य पक्ष झनै बिच्कियो । उसले संस्थापनले सेना समायोजनका विषयमा आत्मसमर्पण गरेको, जनविद्रोहको कार्यदिशा त्यागेको भन्दै खुला रूपमा विरोध गर्न थालेको थियो ।


गत चैतमा लडाकु, हतियार र शिविर नेपाली सेनालाई जिम्मा लगाएपछि वैद्य पक्ष एउटै पार्टीमा बस्न नसक्ने निष्कर्षमा पुगेको हो । त्यसबेलादेखि नै उसले छुट्टै समानान्तर संरचना बनाउन थालिसकेको थियो । ‘जनयुद्धको जगमा जनविद्रोह’ हुन सक्ने वैद्य पक्षको निष्कर्ष छ । संस्थापनमा भारतीय प्रभाव बढी परेको भन्दै वैद्य पक्षले छुट्टै पार्टी खोलेर नयाँ बाटो रोजेको हो । कट्टरवादी कम्युनिस्ट विचारको वैद्य पक्ष र अन्य दलसँग सहकार्य गरी अघि बढ्ने संस्थापन पक्षबीच कार्यदिशामा कुरा नमिल्दा पार्टी विभाजन हुन पुगेको हो ।