भद्रपुर – उपप्रधानमन्त्री एवम् गृहमन्त्री विजयकुमार गच्छदारले तोकिएको समयमा संविधानसभाको निर्वाचन गर्ने बताएका छन् ।
चन्द्रगढी विमानस्थलमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले विपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा माग्नु औचित्यहीन भएको बताए ।
कामचलाउ सरकारले निर्वाचन गराउन सक्दैन भन्नु औचित्यहीन तर्क रहेको भन्दै उपप्रधानमन्त्री गच्छदारले नेपालको इतिहासमा निर्वाचन कामचलाउ सरकारबाटै हुने गरेको स्मरण गराए ।
पार्टीको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्न भद्रपुर आइपुगेका गच्छदारले सहमतिको विकल्प नरहेको उल्लेख गर्दै आफूहरू लचिलो भए पनि विपक्षी दलहरूले अन्तरिम संविधानको मर्मविपरीत लाग्दा समस्या आएको बताए ।
सङ्घीयताका विषयमा कांग्रेस एमालेले जनचाहना नबुझ्दा संविधानसभा संविधान जारी नगरी विघटन भएको उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले नयाँ संविधानका लागि चुनाव आवश्यक परेको स्पष्ट पारे ।
-रासस