मनोज बस्नेत
काभ्रे – काँग्रेस महामन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया नपुर्याई माओवादी नेतृत्वको सरकारले घोषणा गरेको निर्वाचन कांग्रेसले बहिष्कार गर्ने बताएका छन् । शनिबार काभ्रेको बनेपामा आयोजित नेपाल शिक्षक संघको १६ औं जिल्ला प्रतिनिधि सभा उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । सत्ता कब्जाको सपना देखेर माओवादीले निर्वाचनको विधि र प्रक्रिया लत्याएर निर्वाचन घोषणा गरेको उनले आरोप लगाए ।
‘माओवादीले घोषणा गरेको निर्वाचन हुँदैन’ उनले भने ‘यदि निर्वाचन भइहाले पूर्व राजा ज्ञानेन्द्रले गराएको स्थानीय निकायको चुनाव जस्तो हुन्छ । कांग्रेसले यो निर्वाचनमा भाग लिँदैन, बहिष्कार गर्दछ’ उनले भने ‘वैधानिक रूपमा सहमतिमा घोषणा गरेको निर्वाचनमा मात्रै कांग्रेस सहभागी हुन्छ ।’ –