जातीय पहिचानको पक्षमा मोर्चा बनाएर जाने प्रधानमन्त्री

एकल जातीय राज्यका विषयमा दलहरुका वीच मतभेद भईरहेका समयमा प्रधानमन्त्री बाबुराम भट्टराईले विभिन्न आदिवासी जनजाति नेताहरुसँग भेटबार्ता गरेका छन् । भेटबार्तामा एकल जातीय पहिचानको पक्षमा मोर्चा बनाएर जाने सहमति समेत भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा एकल जातीय पहिचान सहितको संघीयताका पक्षधर जनजाति नेताहरुले संयुक्त मोर्चा बनाउने सहमति गरेको जनजाति नतोहरुले बताएका छन् । 

भेटबार्तामा संविधानसभा पुनःस्थापना गर्न संवैधानिक आयोग गठन गर्ने वा सरकारले घोषणा गरेको निर्वाचनलाई नै निरन्तरता दिने भन्ने विषयमा समेत छलफल भएको जनजाति नेताहरुले बताए । जनजाति नेताहरुले फेरी पनि संविधानसभाको निर्वाचनमा जानु खर्चिलो हुने भन्दै अहिलेसम्म भएका सहमतिलाई जोगाएर संविधानसभा पुनःस्थापना गर्नु उपयुक्त हुने सुझाव दिएका छन् । प्रधानमन्त्री भट्टराईसँगको छलफलमा एमालेमा असन्तुष्टी जनाएका उपाध्यक्ष अशोक राई, पृथ्बीसुब्बा गुरुङ, रकम चेमजोङ, किरण गुरुङ र कांग्रेसका इन्द्रबहादुर गुरुङ, जीपछिरीङ लामा तथा आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष ओम गुरुङ लगायतका नेता सहभागी थिए। एकीकृत माओवादीका अध्यक्ष दाहालले संघीयता पक्षधरहरुको मोर्चाबन्दी गरेर अघि बढ्ने भन्ने अभिव्यक्ति सार्वजनिक भए लगत्तै जनजाति नेता र एमाओवादी उपाध्यक्ष समेत रहेक प्रधानमन्त्री भट्टराईले परामर्श गरेका हुन् । rss