काठमाडौ – नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य आइतबार (भोलि) चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् ।
नयाँ पार्टीको अध्यक्ष बनेपछि वैद्यको पहिलो विदेश भ्रमण चीनबाट हुन लागेको हो । एकीकृत माओवादीबाट विभाजन भएर नेकपा-माओवादीको निर्माण भएको एक महिना नबित्दै वैद्यको चीन भ्रमण हुँदैछ । वैद्यको चीन भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
वैद्यसंगै पार्टी विदेश विभाग प्रमुख इन्द्रमोहन सिग्देल पनि चीन जाने कार्यक्रम रहेको पार्टी प्रवक्ता पम्पा भुसालले जानकारी दिएकी छन् । दुई देशका कम्युनिष्ट पार्टीबीचको सम्बन्ध विस्तार तथा पार्टी विभाजनपछिको अवस्था बारे चिनियाँ कम्युनिष्ट नेताहरुसंग छलफल हुने कार्यक्रम रहेको छ ।
असार मध्यतिर नेपाल आएका चीनको सत्तारुढ कम्युनिष्ट पार्टीका तर्फबाट नेपाल मामिला हेर्ने विदेश विभागका उपमन्त्री आई पिङले वैद्यलाई चीन भ्रमणको निम्तो दिएका थिए । RSS



