सिरियाका रक्षामन्त्रीको हत्या

 काठमाडौं, ४ साउन  सिरियाको राजधानी दमास्कसस्थित राष्ट्रिय सुरक्षा ब्युरोको भवनमा भएको आत्मघाती बम आक्रमणमा रक्षामन्त्री जनरल दाउद राजेहा, उपरक्षामन्त्री जनरल आसेफ सौकत र द्वन्द्व व्यवस्थापन कार्यालयका प्रमुख एवं पूर्वक्षामन्त्री हसन तुर्कमानीको मृत्यु भएको छ ।
 
यसअघि सेना प्रमुख रहेका राजेहा एक वर्षभन्दा कम समय मात्र रक्षामन्त्री रहे । सरकारविरोधी प्रदर्शनलाई दमन गरेको आरोपमा अमेरिकाले उनलाई कालोसूचीमा राखेको थियो । अर्को तर्फ सौकत राष्ट्रपति बसार अल असादका सबभन्दा निकटका नातेदार थिए । उनी असादका बहिनीज्वाइँ हुन् । सिरियन अब्जरभेटरी फर हृयुमन राइटसले सौकतको मृत्यु सिरियाली सरकारका लागि निकै ठूलो चोट भएको उल्लेख गरेको छ ।
 
सौकतले नै सिरियाको सेनालाई नियमित रुपमा सञ्चालन तथा क्रान्तिकारीलाई नियन्त्रण गर्न कार्य गरेको बताइएको छ । उनी गुप्तचरका पूर्वप्रमुख पनि थिए । अहिले त्यहाँ जनरल फहद जासिम अल(फुरयाजलाई रक्षामन्त्री नियुक्त गरिएको छ ।
 
एक उच्चस्तरीय बैठकका क्रममा यो घटना भएको हो । राष्ट्रिय सुरक्षा प्रमुख तथा गृहमन्त्री मोहम्मद अल सार तथा राष्ट्रिय सुरक्षाका प्रमुख जनरल हिसम इख्तियार र केही अन्य वरिष्ठ अधिकारीहरु पनि गम्भीर घाइते भएका छन् । सरकार सेनाले यो भवन वरिपरिको भागलाई सिल गरेको छ ।
 
राष्ट्रपति असादका निकट व्यक्तिको रक्षा गर्न विशेष सुरक्षा फौजको सदस्यले यो आत्मघाती आक्रमण गरेको खुलासा भएको छ । अन्तरराष्ट्रियमा  सिरिया युद्धलाई समाप्त पार्न कूटनीतिक प्रयास भइरहेको बेला यो हत्या भएको छ । राष्ट्रसंघले रुस र चीनलाई सिरियामाथि प्रतिबन्ध लगाउन मनाउन प्रयास गरिरहेको छ ।