खनाल आज पोर्चुगल जादै

 काठमाडौं, ४ साउन  नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल आफू निकटका केही नेताहरुसहित दुई हप्ता लामो युरोप भ्रमणमा जान लागेका छन् ।  
 
प्रवासमा रहेको एमाले निकट संगठन नेपाल लोकतान्त्रिक मञ्च युरोपको कार्यक्रममा सहभागी हुन खनाल बिहीबार पोर्चुगल जान लागेको हो । खनालले पोर्चुगलमा हुने नेपाल लोकतान्त्रिक मञ्चको युरोपस्तरिय दोस्रो भेलालाई शनिवार सम्वोधन गर्नेछन् ।
 
कार्यक्रममा युरोपका मुलुकहरु बेलायत, जर्मनी, बेल्जियम, स्पेन, इटाली, डेनमार्क फिनल्यान्ड, स्टिवजरल्यान्ड लगायतका देशहरुबाट झण्डै तीन सय कार्यकर्ताहरुको सहभागिता रहने आयोजकले जनाएको छ । त्यसअघि खनालले शुक्रवार एनडीएफ स्पेनको कार्यक्रमलाई सम्वोधन गर्न कार्यक्रम रहेको छ । खनालले पोर्चुगलमा रहँदा त्यहाँका कम्युनिष्ट पार्टीका नेता तथा गैरआवासीय नेपालीहरुका प्रतिनिधिहरुसंग भेटघाट गर्न कार्यक्रम छ ।
 
यस्तै १४ गते डेनमार्कमा एनडीएफले आयोजना गरेको कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुन एमाले नेता अरुण नेपाल र एनडीएफ युरोपका संयोजक योगेन्द्र शाही मंगलवार नै पोर्चुगल पुगेका छन् । खनालसंगै एमाले प्रवास इन्चार्ज रहेका नेता भीमवहादुर रावल, प्रकाश ज्वाला र खनालका स्वीकय सचिव रामबाबु अधिकारी पनि पोर्चुगल जाँदैछन् ।