काठमाडौ, ४ साउन एकीकृत नेकपा माओवादीले पार्टी भित्र र लडाकु शिविरमा भएको अनियमितताबारे छानबिन गर्न दुई वटा आयोग बनाएको छ ।
लडाकुको डिभिजन कमाण्डरसम्मको छानबिन गर्न माओवादीले पोष्टबहादुर बोगटीको अध्यक्षतामा डोरप्रसाद उपाध्याय र हितराज पाण्डे सदस्य रहेको आयोग गठन गरेको छ ।
पार्टी भित्रको अनियमितताबारे अध्ययन गर्न नेता अमिक शेरचनको अध्यक्षतामा लोकेन्द्र विष्ट मगर र नवराज सुवेदी सदस्य रहेको आयोग बनेको छ । आयोगले १ महिना भित्र प्रतिवेदन पेश गर्नेछ । ब्यवसायिक लेखा परिक्षक राखेर सवै खर्चको हिसाव किताब गरिने माओवादीले जनाएको छ ।
एकीकृत नेकपा माओवादीको सातौं बिस्तारित बैठक भृकुटी मण्डपमा बसिरहेको छ । एकीकृत नेकपा माओवादीको नेतृत्व र लडाकू कमाण्डरबीच आयोग बनाएर आर्थिक अनियमितताबारे छानवीन गरी एक महिना भित्र सार्वजनिक गर्ने सहमति भएपछि डेढ घण्डा ढिला गरी बैठक शुरु भएको हो ।
बैठकमा अहिले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन माथि समूहगत छलफलबाट आएका सुझाब तथा टिप्पणी पेश गर्ने कार्यक्रम भइरहेको छ । लडाकू शिविरमा आर्थिक अनियमितता भएको भन्दै त्यसको छानविन गरी दोषीलाई कारवाही नभएसम्म विस्तारित बैठक अघि बढ्न नदिने बताएका पछि हिजो बैठक स्थगित भएको थियो ।
यसैबीच माओवादीले आज विस्तारित बैठकमा प्रवेश पास परिवर्तन गरेको छ । बैठकमा घुसपैठ भएको भन्दै हिजो रातो कार्ड दिइएकोमा आज सबैलाई हरियो कार्ड दिइएको छ । हिजो प्रवेश पाएका कार्यकर्ताले आज प्रवेश नपाएको भन्दै बैठक कक्ष बाहिर केही बेर विरोध जनाएका थिए ।



