काठमाडौँ – एकीकृत नेकपा (माओवादी)सँग आबद्ध ३० जना युवा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा (एमाले) काठमाडौँ वडा नं ९ कमिटीको नवौँ अधिवेशनको उद्घाटन पारेर उनीहरु एमालेमा प्रवेश गरेका हुन् । एमाले वरिष्ठ नेता केपी ओलीले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।
यसैबीच नेता ओलीले देशमा उत्पन्न राजनीतिक र संवैधानिक रिक्तताको अन्त्य गर्न सबै राजनीतिक दलबीच सहमति हुन जरुरी रहेको बताए ।
अधिवेशनको आज उद्घाटन गर्दै उनले देशलाई निकास दिनका लागि पनि सहमति कायम गरी अघि बढ्नुको विकल्प नरहेको बताए ।
अलोकतान्त्रिक बाटोबाट लोकतन्त्रको स्थापना हुन सक्दैन भन्दै नेता ओलीले सरकारले आगामी मङ्सिर ७ गते गर्ने भनी घोषणा गरेको निर्वाचन अहिलेकै अवथामा हुन नसक्ने र निर्वाचन नाटक मात्र रहेको उल्लेख गरे ।
नेकपा (एमाले) को विचार र उद्देश्यलाई कसैले पनि पराजित गर्न नसक्ने उल्लेख गर्दै उनले भने, ‘अब संविधानसभाको पुनःस्थापना गर्नुको कुनै औचित्य छैन।’
कार्यक्रममा नेकपा (एमाले) का जिल्ला अध्यक्ष निर्मल कुइँकेल, २ नं क्षेत्रीय अध्यक्ष सुवर्ण क्षेत्री, ९ नं वडा अध्यक्ष रामकृष्ण श्रेष्ठ, कमिटीका सहसचिव श्रीराम राई, नेका रामजी भण्डारीलगायतले राष्ट्रमा उत्पन्न भएको सङ्कटलाई राजनीतिक दलहरुले आपसी सहमतिका साथ समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।



