कांग्रेसका सभापतिहरुको भेलाले निकासको बाटो दिने

सिन्धुपाल्चोक, १६ साउन सिन्धुपाल्चोकको बाह्रविसेमा हिजोदेखि सुरु भएको नेपाली काङ्ग्रेसको जिल्ला सभापतिहरुको दोस्रो भेला राजनीतिक निकासको स्पष्ट चित्र कोर्दै आज सकिने छ । भेलाले निकासका लागि कांग्रेसको प्रष्ट धारणा तय गर्नेछ ।
 
भेला सिन्धुपाल्चोक घोषणापत्र जारी गर्दै दिउँसो सकिने भएको छ । बोल्न बाँकी आज ५५ जना जिल्ला सभापतिहरुले आआफ्नो धारणा रराखेपछि त्यसको निस्कर्ष निकाल्दै भेला सकिनेछ ।  भेलाको पहिलो दिन हिजो २२ जिल्लाका काङ्ग्रेस सभापतिहरुले समसामयिक राजनीतिक परिवेश, राजनीतिक सङ्कट समाधानको लागि पार्टीको भूमिका र पार्टी सुदृढिकरणको बारेमा बोलेका थिए ।
 
भेलामा अधिकाङ्श जिल्ला सभापतिहरुले दलहरुबीचको सहमतिमा संविधानका बाधाअड्काउ फुकाएर संसदको निर्वाचन गर्नुपर्नेमा जोड दिएको नुवाकोट काङ्ग्रेसका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए । उनका अनुसार अवको राष्ट्रिय सहमतिको सरकारको नेतृत्व नेपाली काङ्ग्रेसले लिनुपर्ने र अहिलेसम्मका उपलब्धी संस्थागतगर्दै संविधान जारी गर्नुपर्ने सुझाव नेतृत्वलाई दिएका थिए ।
 
पार्टीको महासमितिको बैठक तत्काल बोलाउन जिल्ला सभापतिहरुले माग गरेका छन् । जिल्ला सभापतिहरुको भेला आज सकिने बताइए पनि बोल्न बाँकी जिल्ला सभापतिहरु धेरै भएका कारण भेला भालिसम्म लम्बिन सक्ने केसीले बताए । भेलामा पार्टी पदाधिकारी एवं केन्द्रीय सदस्य तथा ७५ जिल्ला सभापतिहरूको सहभागिता छ । राजनीतिक अन्यौल चिर्न काङ्ग्रेसको भूमिका र पार्टीको सुदृढिकरणको बारेमा सिन्धुपाल्चोक घोषणापत्र जारी गर्दै सकिनेछ ।