खड्का विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ जारी

काठमाडौं, १६ साउन पूर्वमन्त्री खुमबहादुर खड्का विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ आज पनि जारी रहने भएको छ । हिजो सुनुवाई नसकिएकोले आज पनि  न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासमा जारी रहने छ ।

सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलका अनुसार आजै अन्तिम टुङ्गो लाग्ने सम्भावना पनि छ । पूर्वमन्त्री खड्काले  २ करोड ३६ लाख रुपियाँ भ्रष्टाचार गरेको अभियोग छ । पत्नी शिला र छोरी पुनमका नाममा पनि स्रोत नखुलेको सम्पत्ति राखेको भन्दै अख्तियारले उनीहरुलाई पनि मतियार मानेको छ ।

खड्का विरुद्ध अख्तियारले ०५९ कात्तिक ४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले सफाई दिएप्नि सर्वोच्चले फेरि सर्वोच्चमा मुद्दा दाय गरेको थियो ।  उनलाई विशेषका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराले २०६३ कात्तिक २९ मा सफाइ दिएका थिए ।

यसअघि त्यस्तै मुद्दामा पूर्वन्त्री गोविन्दराज जोशीलाई पनि विशेष अदालतले भ्रष्टाचारी ठहर गरिसकेको छ । भ्रष्टाचार मुद्दामा यसअघि पूर्वमन्त्री चिरञ्जीवी वाग्ले, जयप्रकाशप्रसाद गुप्ता र वायुसेवा निगमका पूर्वप्रमुख रामाज्ञाप्रसाद चतुर्वेदीलाई सर्वोच्चले भ्रष्टाचारी ठहर गरिसकेको छ ।