काठमाडौं,१८ साउन देशभरीका सभापतिको भेलाबाट निकासको ठोस धारणा बनाएको दावी सहित सिन्धुपाल्चोक बाट फर्के लगत्तै कांग्रेसका विवाद चर्किएको छ । बरिष्ठ नेता शेरबहादुर देउवा पक्षले विभागीय जिम्मेवारीमा असन्तुष्टि जनाएपछि मिलि सकेको भनिएको विवाद फेरि बल्झीएको छ ।
देउवा पक्षका तर्फबाट विभागको जिम्मेवारी पाएका नेताहरु सामुहीक राजीनाको तयारीमा लागेपछि विवाद उत्कर्षमा पुगेको हो । नेपाली काङ्ग्रेसका विभिन्न जिल्ला सभापतिहरूले आज केन्द्रीय सभापति सुशील कोइरालालाई भेट्दैछन् । सिन्धुपाल्चोकको बाह्रबीसेमा सम्पन्न जिल्ला सभापतिहरूको दोस्रो राष्ट्रिय भेलाले पारित गरेको कार्यक्रमहलागू गराउन दबाब र सुझाब दिने उद्देश्यले सभापति कोइराला भेट्न लागेको नुवाकोट काङ्ग्रेस सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए ।
काङ्ग्रेसको बाह्रबीसे भेलाले राजनीतिक निकासका लागि आफ्नै पार्टीको नेतृत्वमा सहमतिको राष्ट्रिय सरकार गठन गरी संसदीय चुनावमा जानुपर्नेमा जोड दिएका थियो । जिल्ला सभापतिहरूले अहिले बिहान ९ बजेपछि सभापति कोइरालालाई उहाँको निवास महाराजगन्जमा भेट्ने कार्यक्रम रहेको छ ।
यसैबीच पार्टीमा विभागहरू गठन प्रक्रियाप्रति असन्तुष्ट रहनुभएका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि आज विभिन्न जिल्लाका सभापतिहरूसँग अलग्गै भेटघाट र छलफल गर्दै हुनुहुन्छ । दिउँसो ३ बजेपछि देउवा निवासमा छलफलका लागि सभापतिहरूलाई बोलाइएको छ ।
पार्टीमा एकलौटी रूपमा विभाग गठन गरी जिम्मेवारी दिइएको भन्दै देउवाले आफू निकटका सभापतिहरूको राय बुझ्ने उद्देश्यले भेला आयोजना गर्नुभएको हो । केही दिनअघि गठन गरिएको विभिन्न ४२ विभागमध्ये देउवा पक्षीय सदस्यहरूले १३ वटा विभागको मात्र जिम्मेवारी पाएकोे छ ।



