काठमाडौं, २२ साउन चीनको विदेश मन्त्रालयका उपमन्त्री फुयीङ र अष्ट्रेलियाको विदेश मामिलासम्बन्धी राज्यमन्त्री रिचर्ड मार्लस आज काठमाडौं आउँदै हुनुहुन्छ । अष्ट्रेलियाका मन्त्री विहान १२ बजे शिल्प एयरबाट नेपाल आउँदैछन् भने चीनका मन्त्रीको भने समय एकिन भइनसकेको विमानस्थल स्रोतले जनाएको छ ।
उनीहरु दुवैजना द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा छलफल गर्न काठमाडौ आउन लागेका हुन् । फुयीङ र मार्लसले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी लिने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । प्रधानमन्त्री डा बाबुराम भट्टराई, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन लगायत सरकारका वरिष्ठ अधिकारी र राजनीतिक दलका नेताहरुसँग दुवै मन्त्रिले भेट्ने कार्यक्रम छ ।
नेपालको विकास प्रक्रियामा सघाउँदै आएका साझेदार तथा दातृ निकायको आगामी मंगलबार हुने बैठकमा समेत उहाँहरुले भाग लिनु हुने कार्यक्रम छ । अष्ट्रेलियाले वन, स्वास्थ्य, शिक्षा, सुशासन, शान्तिप्रक्रिया र ग्रामीण विकासका क्षेत्रमा नेपाललाई सहयोग गर्दै आएको छ भने चीनले पनि नेपालको विकास प्रक्रियामा सहयोग गर्दै आएको छ ।
अस्ट्रेलियाका राज्यमन्त्री रिचर्डले प्रधानमन्त्री उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, अर्थमन्त्री शिक्षामन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसाग छुट्टाछुट्टै भेटी द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालको वर्तमान राजनीतिक अवस्थाका बारेमा राज्यमन्त्री रिचर्डले जानकारी लिने र अस्ट्रेलियाले नेपाललाई सहयोग अभिवृद्धि गर्नसक्ने क्षेत्रका बारेमा पनि कुराकानी हुने बताइएको छ । RSS



