रोकिएको सेना समायोजनको प्रक्रिया अगाडी

काठमाडौं, ११ भदौ रोकिएको सेना समायोजनको प्रक्रिया अगाडी बढाउन आजबाट छलफल सुरु हुँदैछ । माओवादी लडाकुको रेखदेख, समायोजन र पुनस्र्थापनाको जिम्मा पाएको सेना समायोजन विशेष समितिको बैठक सोमबार बस्ने भएको छ ।

लडाकूको शिक्षा, उमेर, महानिर्देशनालयको गठनका विषयमा विवाद रहेकाले त्यस विषयमा छलफल गर्न बैठक बस्न लागेको कांग्रेस नेता तथा समितिका सदस्य मिनेन्द्र रिजालले जानकारी दिएो । बैठक बिहान सवा ११ बजे विशेष समितिको सचिवालय नयाँ बानेश्वरमा बोलाइएको छ ।

 बैठकमा लडाकुको उमेर, नयाँ बन्ने महानिर्देशनालयको संरचना र लडाकुलाई दिने दर्जाबारे पनि छलफल हुने भएको छ । समायोजनका लागि सैनिक नियमावली संशोधन गर्नुपर्ने भएकाले सहमतिबाटै समायोजन अघि बढाउने तयारीस्वरूप प्रधानमन्त्री डा। बाबुराम भट्टराईले आइतबार शीर्ष नेताहरूको बैठक र सोमबार विशेष समितिको बैठक बोलाएका हुन् ।

सरकारले ७ भदौमा तीन महिनाका लागि म्याद थपेपछि विशेष समितिको बैठक पहिलोपटक बस्न लागेको हो । एमाले नेता तथा विशेष समिति सदस्य भीम रावलले समायोजन प्रक्रिया टुंग्याउन छलफल भइरहेको तर विगतका निर्णय कार्यान्वयन नभएकाले शंका उब्जेको बताए । समितिको बैठकमा आफूहरूले विगतका निर्णय कार्यान्वयन नभएको विषयमा प्रश्न उठाउने पनि बताए ।

पछिल्लो समय दोस्रो चरणको प्रमाणीकरणमा समायोजन रोजेका तीन हजार एक सय २३ माओवादी लडाकु चार महिनादेखि शिविरमा बसेका छन् । उनीहरूले समायोजन प्रक्रियालाई छिटो टुंगो लगाउन आग्रह गर्दै आएका छन् । प्रधानमन्त्री भट्टराईले यसअघि विशेष समितिले गरेको निर्णयका साथै सातबुँदे सहमतिअनुसार नै समायोजन प्रक्रिया अघि बढाउन सेनालाई निर्देशन दिएका थिए । तर, कांग्रेस र एमालेले विरोध गर्दै आएका छन् ।

माओवादी लडाकुको उमेर र शिक्षाका विषयमा अवरोध भएपछि समायोजन प्रक्रिया रोकिएको थियो । सेनाको भर्ना छनोट टोली २० असारमा शिविरबाट फर्केपछि माओवादी लडाकुको समायोजनबारे कुनै पनि औपचारिक छलफल दलहरूबीच भएको छैन