नेकपा माओवादी र मधेसी मोर्चाबीचको गठबन्धन चाँडै भंग हुने:गुप्ता

११ भदौं, काठमाण्डौं । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका नेता जयप्रकाश गुप्ताले एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाबीचको गठबन्धन चाँडै भंग हुने बताएका छन् । भ्रष्टाचारको मुद्धामा राजधानीको डिल्लीबजार जेलमा रहेका गुप्ताले यो गठबन्धनले मधेशका मुद्धा समाधान गर्न नसक्ने दाबी गरेका छन् । निर्वाचनसम्म सँगै जाने भनिएपनि मधेसी मोर्चाका लागि चुनावी मैदानमा माओवादीसागै जान लाभकारी नहुने भएकाले गठबन्धन चाँडै टुट्ने बताएका हुन् ।

नागरिक दैनिकमा प्रकाशित लेख मार्फत गुप्ताले मधेसी मन्त्रीहरुले काँग्रेस र एमालेले संघीयताबारे कुनै प्रतिबद्धता नजनाएको र राज्यको पुर्नसंरचनामा एकल जातीय पहिचानको प्रदेश स्वीकार गर्न तयार नभएका कारण बाध्य भएर माओवादीसँग मोर्चाबन्दी गर्नुपरेको बाध्यता सुनाउँछन भनेका छन् ।

माओवादी र मोर्चाबीचका गठबन्धनले आज सम्मको अन्यौलताको अन्त्य गर्न नसकेको अनिश्चय अनि शक्ति परिचालन गर्ने निकायबीचको अन्तरद्धन्द्धमा कमी ल्याउन नसकेको निष्कर्ष गुप्ताको छ । उनले माओवादी(मधेसी मोचाको गठबन्धनले अवको राजनीतिक निकासका लागि सार्थक पहल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । अहिलेको अवस्थामा प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी पार्टीले निकास नदिई सत्ताको निरन्तरतालाई मात्र महत्व दिएमा देशमा ठुलो नोक्सानी हुने र सवैभन्दा बढी क्षति मधेसी मोर्चालाई हुने स्पष्ट पारेका छन् ।