जापानको अदालतले सामसुङले एप्पलको कुनैपनि प्याटेन्ट अधिकार हनन नगरेको फैसला, दुई कम्पनीविचको टकराव नयाँ मोडमा

टोकियो  । प्रविधिको क्षेत्रका दुईवटा शक्तिशाली कम्पनी एप्पल र सामसुङ विचको विवादले नयाँ मोड लिने भएको छ । जापानको एक अदालतले कोरीयाली कम्पनी सामसुङले एप्पलको कुनैपनि प्याटेन्ट अधिकार हनन नगरेको फैसला सुनाएपछि यी दुई कम्पनीविचको टकराव नयाँ मोडमा पुगेको हो ।


यसअघि दक्षिण कोरीयाली कम्पनी सामसुङले अमेरीकी कम्पनी एप्पलको वौद्धीक सम्पत्ती चोरेको आरोपमा अमेरिकाको एक अदालतले अघिल्लो हप्तामात्रै सामसुङलाई एक बिलयन डलरभन्दा बढी जरिवाना तोकेको थियो ।


यसैगरी एप्पलले सामसुङको जापानी विक्रेताहरुबाट १२ लाख ७० हजार अमेरीकी डलर जरिवाना माग गरेको थियो । टोकियो अदालतले एप्पलको दावी अस्विकार गदै उल्टै अमेरीकी कम्पनीले सामसुङलाई कानुनी लडाईको वैधानिक खर्च व्यहोर्न आदेश दिएको छ ।


एप्पलको आईफोन र सामसुङको ग्यालेक्सी स्मार्ट फोनको वजार विश्वमा बढदै जाँदा दुई कम्पनीविचको प्याटेन्ट अधिकार विवाद पनि चुलिंदै गएको छ । सामसुङले अमेरीकी बजारबाट आफ्ना सबै स्मार्ट फोनहरु फिर्ता लैजानुपर्ने मागसहित एप्पलले अमेरीकी अदालतमा दायर गरेको अर्को अपिलमाथि आगामी डिसेम्बरमा फैसला हुनेछ ।

 

– AGENCIES