काठमाडौं, १७ भदौ निरन्तर सहमतिका लागि कसरत गरिरहेका दलहरुले आजपनि छलफल गर्दैछन् । भदौभित्र विवादित विषयको टुङ्गो लगाउने प्रतिवद्धता जनाएका दलहरु केही दिनदेखि निरन्तर छलफलमा छन् । आज दिउँसो बस्ने बैठकमा संविधानसभा पुनःस्थापना, ताजा चुनावका विषयमा छलफल हुनेछ ।
जेठ २ को समझदारीमा संघीयताका लागि ११ प्रदेशमा सहमति बनेको थियो । प्रदेशको नाम पछि सम्बन्धित प्रदेश सभाले राख्ने गरी खाली राखिएको थियो । सीमांकनको विवाद भएमा जनमतसंग्रह गर्न सकिने भनिएको थियो । निर्वाचन या संविधानसभा पुनःस्थापनामध्येको विकल्पमा जानुअघि दलहरूले संविधानका विवादित विषयमा हल खोज्ने प्रयत्न गरेका हुन् । संविधानका अन्तरवस्तुमा सहमति जुटेमा संविधान जारी गर्नका लागि केही समयका लागि संविधानसभा पुनःस्थापना गर्न सकिनेमा पनि तीनै दल सकारात्मक छन् ।
तर सबै विषयमा सहमति नभएमा संविधानसभाको समेत काम गर्ने गरी संसद्को निर्वाचन गर्ने र नमिलेका जटिल खालका मुद्दालाई जनमतसंग्रहमा लगेर टुंग्याउन सकिने दिशामा समेत छलफल केन्द्रित भएको छ ।



