प्रधानमन्त्री बाबुराम भट्टराईकै आडमा नापी विभागको महानिर्देशक बनेका विवादित नागेन्द्र झाले विवादास्पद सरुवा गरेका छन् ।
हत्याको अभियोगबाट तत्कालीन भूमिसुधारमन्त्री एवं माओवादी नेता प्रभु साहलाई बचाउन पीडितलाई घूस दिएको पुरस्कारस्वरूप महानिर्देशक बनेका झाले पदस्थापन भएको तीन दिनमै मापदण्ड मिचेर विभागका ६२ जना कर्मचारीको सरुवा गरेका छन् ।
झाले निजामती ऐन तथा सरुवाको स्थापित मापदण्ड र परम्परालाई मिचेर आफू निकट र माओवादी समर्थकलाई आकर्षक ठाउँमा सरुवा गरेको स्रोतको दाबी छ । उनले दर्जनौं कर्मचारीलाई मापदण्ड मिचेर दुःख दिने मनसायले सरुवा गरेका छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईको दबाब र निर्णयमा झा महानिर्देशक भएका थिए । झाले निजामती ऐनविपरीत मापदण्ड मिचेर माओवादी निकट कर्मचारीलाई छानी(छानी कमाउ अड्डा मानिने आकर्षक ठाउँमा सरुवा गरेको स्रोतले बतायो । विभागमा भदौ २७ गते पदस्थापन भएका झाले आइतबार मनोमानी ढंगले दुई नापी अधिकृतसहित ६२ कर्मचारीको सरुवा गरेका हुन् ।
सरकारले सबै विभागलाई आन्तरिक मापदण्ड बनाएरमात्र कर्मचारी सरुवा गर्न लिखित निर्देशन दिएको छ । झाले निर्देशनको अवज्ञा गरी आन्तरिक मापदण्ड नै नबनाई आफ्नो र माओवादीको स्वार्थअनुरूप सरुवा गरेका हुन् । झाले दुर्गममा बसेकालाई सुगम र सुगममा बसेकालाई दुर्गममा सार्ने निजामती ऐनको व्यवस्थाको उल्लंघन गर्दै दुई दर्जनभन्दा बढी कर्मचारीलाई सुगमको कमाउ अड्डाबाट आकर्षक कार्यालयमा सारेका छन् ।
काठमाडौंबाट सुनसरी सरुवा भएका सर्वेक्षक रामदेव मेहतालाई पुनः काठमाडौंमा र काठमाडौंबाट नुवाकोट सरुवा भएका सर्वेक्षक सूर्यबहादुर कार्कीलाई पुनः दिल्डीबजार नापी कार्यालयमा सरुवा गरिएको छ, जबकि सुगम र आकर्षक कार्यालयमा बसेकालाई त्यस्तै कार्यालयमा सरुवा गर्न नपाइने व्यवस्था छ । सरुवाको अर्को विकृत नमुना विभागका भारत र चीनसँगको सीमा नापीको दक्षता भएका शाखा अधिकृत कुमार कार्कीलाई चाबहिल नापी कार्यालयमा सरुवा गरिएको छ । सीमा नापी शाखामा दक्षता भएका व्यक्तिको अभाव हुने गरी अन्यत्र सरुवा गरिनु अर्को विवादास्पद सरुवाको नमुना भएको जानकारी विभागका एक अधिकारीले जानकारी दिए ।
भूमिसुधार मन्त्रालयमा सहसचिव हुँदा झाले आफ्ना तत्कालीन तालुकवाला मन्त्री साहलाई हिन्दू युवा संघ पर्साका अध्यक्ष काशी तिवारीको हत्याको अभियोगबाट बचाउन गत वर्षको असोज अन्तिम साता पीडित बबितादेवी तिवारीलाई ८ लाख रुपैयाँ घूस दिएका थिए । तिवारीकी पत्नी बबितादेवीले साहलाई नपोल्न झाले आफूलाई घूस दिएको कुरा नोटको बिटासहित सार्वजनिक गरेकी थिइन् । तिवारीको २७ महिनाअघि हत्या भएको हो । हत्याको अभियोगमा पक्राउ परेका अभियुक्तहरूले आफूहरू साहको निर्देशन र योजनाअनुसार तिवारीको हत्या गरेको साविती बयान प्रहरीलाई दिएका छन् ।
भट्टराईले सामान्य प्रशासन मन्त्रीको हैसियतमा झालाई महानिर्देशकमा सरुवा गर्न सहमति दिएका थिए । सहसचिवको सरुवा गर्न सामान्य प्रशासनमन्त्रीको सहमति अनिवार्य हुन्छ ।
भूमिसुधारमन्त्री चन्द्रदेव जोशीले सरकार प्रमुखको दबाबमा झालाई मन्त्रालयबाट महानिर्देशकमा सार्ने निर्णय गरी भदौ ९ मा सामान्य प्रशासनको सहमति मागेको निर्णय सार्वजनिक हुनासाथ प्रधानमन्त्रीका स्वकीयसचिव विश्वदीप पाण्डेले भोलिपल्टै वक्तव्य जारी गरी झालाई सरुवा गर्न प्रधानमन्त्री भट्टराईको कुनै संलग्नता र दबाब नरहेको दाबी गरेका थिए ।
झालाई सरुवा गर्ने निर्णयमा प्रधानमन्त्रीले नै भदौ २६ मा सामान्य प्रशासनमन्त्रीको
हैसियतमा सहमति दिएपछि उनको संलग्नता र दबाब रहेको स्वतः प्रमाणित भएको सरकारी अधिकारीले बताएका छन् ।