एकीकृत माओवादी धादिङका दुई इलाका इञ्चार्जबीच गजुरीमा झडप भएको छ। इलाका नम्बर १२ का इञ्चार्ज ध्रुव सुवेदी र १३ का तारा भण्डारीबची झडप भएको हो। पत्रपत्रिकामार्फत् आफूलाई बदनाम गरेको भन्दै गजुरी आउँदै गरेका भण्डारीलाई सुवेदीले बीच बाटोमै मुक्का हानेका थिए। मुक्का खाएका भण्डारीको ओठ फुटेर रगत बगेको प्रत्यक्षदर्शीले बताएका छन्।काठमाडौंबाट प्रकाशित एक साप्ताहिक पत्रिकामा सुवेदीले पार्टीको आडमा विभिन्न व्यापारी, संघ संस्थासँग अवैधरुपमा चन्दा असुली गरेर करोडौं भ्रष्टाचार गरेको पाठक प्रतिक्रियामार्फत् सार्वजनिक भएको थियो।
सुवेदीको प्रहारबाट भण्डारीको ओठ फुटेर रगत बगेको छ। आफूलाई आधारहीन आरोप लगाई बदनाम गरेको आरोप लगाउँदै सुवेदीले मोटरसाइकलसमेत तोडफोड गरिदिएका छन्। आफूले सो काम नगरेको भन्दै छलफल गर्न आग्रह गर्दा आक्रोशित सुवेदीले यो काम तेरै हो भन्दै ज्यान मार्नेसम्मको धम्की दिएका घटनाका प्रत्यक्षदर्शीले जानकारी दिए। आक्रमण पछि सथानीयले छुटाएका थिए। भण्डारीसंग भने सम्पर्क हुन सकेन।
एक हप्ताअघि एमाओवादी कार्यकर्ता उदय रम्तेल, समिर तामाङ र गोविन्द अधिकारीको नाममा सुवेदीले विभिन्न ३० शीर्षकमा साँढे दुई करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको भन्दै छानबिन गर्न माग गरेर पार्टी जिल्ला प्रमुखलाई सम्बोधन गरी पार्टी कार्यालयमा उजुरी दर्ता गराएको सार्वजनिक भएको थियो। सोही विवरणसहित माओवादी कार्यकर्ताको हुलिया दिई परिचय नखुलाई बुधबार साप्ताहिकमा पाठक पत्रमार्फत् सार्वजनिक भएको थियो।
दुवै जना एककीकृत माओवादी ताम्सालिङ राज्य समितिका सदस्य हुन्। यसअघि कृषि सहकारीमार्फत् कालोबजारीमा मल बिक्री गरेको आरोपमा सहकारीका अध्यक्षसमेत रहेका भण्डारीलाई प्रहरीले पक्राउ गरी छाडेको थियो। दुई इलाका इञ्चार्जबीच यसअघि नै मन मुटाव रहँदै आए पनि झडपको स्थितिमा पुगेको भने यो पहिलो पटक हो।
रामेश्वर कार्की/नागरिक