नारायणकाजी श्रेष्ठ सोमबार ओबामासँग भेट

काठमाडौं, असोज १० उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग संक्षिप्त भेट गरेका छन्। संयुक्त राष्ट्रसंघको ६७ औं महासभामा सहभागी हुन न्यूयोर्क पुगेका उनले सोमबार ओबामासँग भेट गरेका हुन्।
राष्ट्रसंघको महासभामा भागलिन जाने बिभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखलाई अमेरिकी राष्ट्रपतिले रात्रि भोजको निम्तो दिने प्रचलन रहेको छ। सोमबार साँझ आयोजना गरिएको रात्रि भोजमा राष्ट्रपति ओबामासँग उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठको संक्षिप्त भेट भएको न्यूयोर्कस्थित नेपाली स्थायी नियोगले जनाएको छ। सामान्य परिचयपछि अमेरिकी राष्ट्रपति ओबामाले नेपालको वर्तमान अवस्था बारे बिशेष गरि शान्ति प्रक्रिया बारे उपप्रधानमन्त्री श्रेष्ठसँग जानकारी लिएका थिए । श्रेष्ठले प्रतिउत्तरमा शान्तिप्रक्रिया धेरै अगाडि बढेको र मुलुक संविधान सभाको निर्वाचनको तयारीमा जुटेको जानकारी ओबामालाई गराएका थिए । ओबामाले नेपालको शान्ति प्रक्रियामा अमेरिका सहयोग गर्न तयार रहेको र केही सहयोग चाहिए निसंकोच भन्न श्रेष्ठलाई अनुरोध गरेका थिए ।

यस्तै, श्रेष्ठले दक्षिण कोरियाका विदेश तथा वाणिज्यमन्त्री किन सुङ(हान र बहराइनका बिदेशमन्त्री सेख खालिद विन अहमद वल(खालिफासँग द्विपक्षिय हितका बिषयमा छलफल गरेका थिए। दुई देशबीच व्यापार, पर्यटन, लगानी, पूर्वाधार निर्माण र जलविद्युत लगायतका क्षेत्रमा कायम विद्यमान सम्बन्धलाई अझ मजबुत बनाउने श्रेष्ठ र हान सहमत भएको नियोगले जनाएको छ।

न्युयोर्कस्थित नेपाली स्थायी नियोगका अनुसार कोरियाली मन्त्रीसँग लुम्बिनीको विकासमा हुन सक्ने लगानीका विषयमा पनि छलफल भएको थियो। भेटमा दुवै देशका नेताले इपिएस प्रणालीबाट कामदार लैजाँदा दुवै देशलाई फाइदा भएकोमा खुसी व्यक्त गरेका थिए। बहराइनका बिदेशमन्त्रीसँग नेपाली कामदारको सुरक्षा र दुई देशबीच उच्चस्तरीय भ्रमणका विषयमा छलफल भएको थियो।

श्रेष्ठ सोमबार नै राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदको विशेष मन्त्रिस्तरीय बैठकमा सहभागी भएका थिए। बैठकलाई सम्बोधन गर्दै उनले आर्थिक, सामाजिक तथा वातावरणिय र जलवायु परिवर्तन जस्ता समस्याको समाधान बहुपक्षिय पहुँचका आधारमा खोजिनु पर्ने बताए। यस्तै विधिको साशन सम्बन्धी उच्चस्तरीय बैठकमा समेत सोमबार नै उनी सहभागी भएका थिए।