नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफूलाई पार्टीभित्र निर्णयक व्यक्तिमा पर्ने नेता भएको बताएका छन्। उनले दुईवटा पार्टी एकीकरण हुँदा दुई सभापति रहेकोमा गिरिजाप्रसाद कोइरालाको निधनपछि आफू महत्वपूर्ण नेतामा पर्ने बताए। ‘पार्टी एकीकरण हुँदा दुईजना सभापति मध्ये एकको निधन भएपनि अर्को म छदैछु,’ वरिष्ठ नेता देउवाले सुनसरी ववियामा बुधबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा अहिले पार्टीमा आफू उच्च नेता भएको संकेत गर्दै भने। उनले बेला-बेलामा पार्टीभित्र छुटै भेला बोलाएको र सभापति सुशील कोइरालाविरुद्ध लागेको भनेर आलोचना हुनु स्वभाविक भएको बताए।
नेता देउवाले सहमतीय सरकारको नेतृत्व गर्ने जिम्मा काँग्रेसले पाएमा पार्टीबाट को प्रधानमन्त्री हुने? भन्ने विषयमा विवाद नहुने बताए। ‘सहमति भएको खण्डमा काँग्रेसबाट तत्काल प्रधानमन्त्रीको घोषण हुनेछ,’ सञ्चारकर्मीले सोधेको प्रश्नको छोटोछोटा जवाफ दिँदै उनले भने, ‘प्रधानमन्त्रीको टुंगो लगाउन कुनै समस्या छैन्।’ नेता देउवालाई एकपछि अर्को सञ्चारकर्मीले पार्टीको विवादको विषयमा प्रश्न सोध्दा उनले ‘जति सोधेपनि जवाफ’ नदिने बताए।
उनले जिल्ला पार्टी कार्यालय इनरुवामा कार्यकर्तालाई सम्वोधन गर्नेक्रममा भने माओवादीले सहमतिका लागि सरकार नछाडेकाले गर्दा आन्दोलन चर्काएर सरकार ढाल्ने चेतावनी दिए। ‘आन्दोलन नगरी सरकार ढल्नेवाला नभएकाले गर्दा आन्दोलन गर्न लागिएको हो,’ उनले भने, ‘भोलि बस्ने बैठकले आन्दोलनको स्वरुप तय गर्नेछ। बैठक नै नबसी अरु दलसँग छलफल नगरी आन्दोलन कस्तो हुने भनेर कसरी भन्ने?’
नेता देउवाले माओवादीले देशलाई अप्ठ्यारो स्थितिमा पुर्याएकाले सहमतिको विकल्प नभएको बताए।



