विश्वका ६ अरबभन्दा बढी व्यक्तिसँग मोबाइल फोन रहेको तथ्यांक सार्वजनिक भएको छ । विश्वमा जति जनसंख्या छ लगभग त्यतिकै संख्यामा मोबाइल प्रयोगकर्ता पनि रहेको संयुक्त राष्ट्रसंघीय टेलिकम संस्थाले जनाएको हो ।
सञ्चारका कारण संसार अहिले यति साँघुरो भएको छ कि मोबाइल नहुने मानिसले कसरी आफ्नो दिनचर्या चलाउँला भन्ने अवस्था छ । सञ्चार बिना त मानिसले आफूलाई एक्लो र असहाय महशूस गर्दछ ।
यस्तोमा अन्तर्राष्ट्रिय दूरसञ्चार यूनियनले सन् २०११ को अन्त्यसम्ममै विश्वमा करिब ६ अरब मोबाइल फोन रहेको जनाएको हो । यसमा एक अरब त चिनियाँ नागरिकले नै प्रयोग गर्दछन् ।
एक सय ५५ देशमा गरिएको अध्ययनपछि यो तथ्यांक सार्वजनिक गरिएको हो । स्वीट्जरल्याण्डको जेनेभामा मूख्यालय रहेको अन्तर्राष्ट्रिय दूरसञ्चार यूनियनले सन् २०११ को अन्त्यसम्ममा विश्वका दुई अरब व्यक्तिले इन्टरनेटको प्रयोग गरेको पनि जनाएको छ ।
विकसित देशका ७० प्रतिशत जनता अनलाइनको पहुँचमा रहेकोमा विकासशील देशमा भने त्यो संख्या २४ प्रतिशतमा मात्र सीमित छ ।
– Agencies