लन्डन – वैज्ञानिकले अन्तरिक्षमा हीराको ग्रह पत्ता लगाएका छन् । पृथ्वीभन्दा आकारमा दुई गुणा र घनत्वमा आठ गुणा ठूलो यो ग्रहले आफूभन्दा ४० प्रकाशवर्ष टाढाको सूर्यको जस्तो एक ताराको चक्कर लगाइरहेको छ ।
यसले १८ घन्टामा उक्त ताराको एक फन्को मार्छ । यो ग्रहलाई उपकरणको सहयोगबिना हेर्न सकिने खगोलविद्हरू बताउँछन् । अमेरिका र फ्रान्सका खगोलविद्ले पत्ता लगाएको यो ग्रहलाई ‘५५ केंक्री’ नामाकरण गरिएको छ । यसको सतह ग्रेफाइट हीराले बनेको छ ।
अन्य ग्रहको सतह पानी र ग्रेनाइटले बनेको देखिएको छ । यो नयाँ ग्रहलाई ‘सुपर अर्थ’ पनि भनिएको छ । एक एस्ट्रोफिजिकल जर्नलमा यो ग्रहबारे विस्तृत सामग्री प्रकाशित हुने भएको छ । यो अनुसन्धानमा सहभागी अमेरिकाको याले विश्वविद्यालयका खोजकर्ता निक्कु मधुसूदनले हीराको सतह भएको यो ग्रहको तापक्रम निकै बढी ३ हजार ९ सय डिग्री फरेन हाइट छ । हुन त यसअघि पनि हीराको ग्रह पत्ता लागिसकेको छ, तर सूर्य जस्तो ताराको चक्कर लगाइरहेको यो पहिलो हो ।
पहिलो पटक पृथ्वीभन्दा भिन्न कार्बनयुक्त सतह भएको ग्रहको खोजी गरिएको उनले बताए । यो ग्रहलाई गत वर्ष पहिलो पटक अवलोकन गरिएको थियो ।
-Agencies