सङ्घीयाताका नाममा जातीय द्वन्द्व गराएर मुलुककै चिनारी खतरामा-प्रदिप ज्ञवाली

एमालेका प्रचार विभागका प्रमुख प्रदिप ज्ञवालीले सरकारले विभिन्न वाहनामा सत्ता लम्ब्याएर मुलकलाई अभूतपूर्व तथा बहुआयामिक सङ्कटतर्फ धकेलेको बताउनुभएको छ ।

बन्दुकको छायाँमुनि सविधान बन्न नसक्ने बताउदै उहाँले बाबुराम नेतृत्वको सरकारले सवैधानिक रिक्तता कायम गरेर भजनमण्डलीहरुको गठबन्धन बनाएको आरोप लगाउनु भएको छ । आज बिहान प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतको आठौ वार्षिक साधारणसभा तथा प्रेस चौतारीको सृजनशील पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

ज्ञवालीले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिनछिनमा बोली फेरेर दलहरुलाई भुलाउने काम गरेको र माओवादीले कुनै पनि कुरामा विश्वास गर्ने आधार नदिएकाले संविधानसभाको पुनःस्थापनाको पक्षमा एमाले नरहेको बताउनुभयो । माआवादीले सङ्घीयाताका नाममा जातीय द्वन्द्व गराएर मुलुककै चिनारी खतरामा परेको र अवैधानिक राज्य खडा गरेको उहाँले बताउनुभयो ।

दलहरु नदीको दुई किनारा भएको अहिलेको अवस्थामा सहमतिको विकल्प नरहेको उहाँको भनाइ छ । त्यस्तै पर्वतको विकासका लागि परोपकारी पत्रकारितामार्फत् सहयोग गरेको भन्दै प्रेस चौतारी पर्वतले कान्तिपुरका संवाददाता विमल खतिवडा र इन्सेक तथा नेपाल टेलीभिजनका माधवराज पाण्डेलाई सम्मन गरेको छ ।

Source:Rss