जानकी मन्दिर परिसरमा विष्फोट

– सुरेश यादव

 

जनकपुर  – शुक्रबार साँझ साढे छ बजे जानकी मन्दिर परिसरमा विष्फोट भएको छ। मन्दिर परिसरमा राखिएको फुटपाथ पसलमा लाइट बाल्न प्रयोग गरिएको पाँच किलो वजन भएको ग्यास सिलिण्डर विष्फोट भएको हो। लाइट बालेर राखिरहेको सिलिण्डरमा एक्कासी ग्यास लिक भएर आगो लागेपछि विष्फोट भएको जानकी प्रहरी चौकीका इन्चार्ज सई विश्वनाथ साहले जानकारी दिए।


सिलिण्डरबाट ग्यास लिक हुन थालेपछि प्रहरीमा खबर भएको थियो। खबर भएको दुई मिनेट नबित्दै घटनास्थल पुगेको प्रहरीले बालुवा हालेर सिलिण्डर छोप्दाछोप्दै विष्फोट भएको थियो।

सिलिण्डर विष्फोट हुनु अगावै स्थानीयलाई खाली गराइएकाले मानवीय क्षतिबाट जोगिए पनि छेउछाउको पसलमा सामान्य क्षति भएको पसलेहरुले बताए।


ठूलो आवाजका साथ विष्फोट भएको सिलिण्डरको टुक्रा उछिट्टिएर छेउछाउको फोटो फ्रेम तथा कस्मेटिक पसलहरुको सामान जलेको थियो। फोटोफ्रेमको पसल थापेर बसिरहेका जनकपुर -६ का रामविलास साहले उक्त सिलिण्डर भारतीय बजार सुरसण्डबाट एक हप्ता अगाडि किनेर ल्याएको बताए।


जिल्ला प्रशासन कार्यालय र प्रहरीले १४ किलो भन्दा कम तौल भएका ग्यास सिलिण्डरहरुलाई प्रतिबन्धित घोषणा गरेपनि जनकपुर बजारमा बिक्री गर्ने र प्रयोग गर्ने छ्याप्छ्याप्ती देखिन्छ।