संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले कार्तिक १५ गते निर्वाचन वा पुनःस्थापनाबारे अन्तिम टुंगो लगाउने निर्णय

काठमाडौं  । सत्तारुढ दलहरु सम्मिलित संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले राजनीतिक संकट समाधान गर्न लचिलो हुने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज विहान मुलुकको पछिल्लो राजनीतिक अवस्था र समयसामयिक विषयमा छलफल गर्न बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।


गठवन्धनका संयोजक प्रचण्डले मुलुकको समस्या समाधानका लागि वार्तालाई तिव्रता दिने र प्याकेजमा सहमति खोज्ने बताए । बैठकले कार्तिक १५ गते संविधानसभाको निर्वाचन वा पुनःस्थापनाबारे अन्तिम टुंगो लगाउने निर्णय गरेको छ ।
 
नेपाली कांग्रेस र नेकपा एमालेसँग पछिल्लो पटक भएका भेटमा प्रचण्डले मिल्न सकेका विषय समेटेर संविधान जारी गरी निर्वाचनमा जाने प्रस्ताव गरेका थिए । गठबन्धनमा आवद्ध केही दलले प्रचण्डको प्रस्तावमा असहमति जनाएपछि आजको बैठक बोलाइएको हो ।


एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको गठबन्धनमा २१ दल सम्मिलित छन् । संघियताका पक्षधरहरु एक भएर अघि बढ्ने भन्दै सत्तारुठ घटकले गठबन्धन बनाएका हुन् ।

 

– RSS