म्यानपावर दर्ताका लागि घुस मागेका श्रममन्त्री कुमार बेलबासेद्धारा राजीनामा


घुस मागेको अरोप लागेका श्रममन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । म्यानपावर दर्ताका लागि घुस मागेको आरोप लागेका श्रममन्त्री कुमार बेलबासेलाई तत्काल राजीनामा दिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले निर्देशन दिएका छन् ।

 

घुस माग्दै गरेको खबर सञ्चारमाध्यमहरुमा आएपछि प्रधानमन्त्री भट्टराईले श्रममन्त्री बेल्वासेलाई फोन गरेर यस्तो निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री भट्टराईले नेकपा मालेलाई पनि मन्त्री फिर्ताका लागि आग्रह गरिसकेका छन् । बेल्वासेले राजीनामा नदिए हटाउने मनस्थितिमा प्रधानमन्त्री भट्टराई रहेको बुझिएको छ ।


बेलबासेले नयाँ म्यापावर दर्ता गर्न जानेहरुसँग पार्टी अफिस निर्माणका लागि भन्दै मोटो रकम लिने गरेको खुलासा भएपछि प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

 

मन्त्री बेलवासेले व्यवसायीको आवरणमा पुगेका ‘भ्रष्टाचारविरुद्धको अभियान नेपाल’ का प्रतिनिधिसँग पार्टीका लागि भन्दै रकम मागेका हुन् । नेकपा मालेका तर्फबाट मन्त्री बनेका बेलवासे पार्टी पोलिटब्युरो सदस्यसमेत हुन् ।

 

अभियानका प्रतिनिधिले मन्त्री बेलवासे र मध्यस्थकर्ताको भूमिकामा रहेका मालेका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज भाष्कर काफ्लेसँगको संवादको भिडियो रेकर्डिङ नै गरेका छन् । भिडियो रेकर्डिङमा रहेको संवादका क्रममा रकम दिएपछि काम हुने ग्यारेन्टी खोजिएपछि श्रममन्त्री बेलवासेले भनेका छन्, ‘कुनै व्यक्तिलाई दिए फस्न सक्छ तर पार्टीले त उपयुक्त समयमा त्यसको स्लीप नै दिन्छ । सहयोगबिना त पार्टी चल्दैन । पार्टीले सहयोग लिन्छ नै ।’

 

भिडियो टेपबारे प्रतिक्रिया माग्न खोज्दा मन्त्री बेलवासेले यतिमात्र भने, ‘फटाहाहरुले फसाए ।’ उनले मध्यस्थकर्ता काफ्ले वा पार्टीका अन्यलाई फटाहा भनेका हुन् वा कसलाई हो थप प्रतिक्रिया दिन नचाहेकाले प्रष्ट भएन ।

 

घुस प्रकरणमा मध्यस्थता गरेका काफ्लेले ९ वटा नयाँ कम्पनी दर्ताका लागि साढे २ लाख रुपैयाँका दरले २२ लाख ५० हजार रुपैयाँ मागेका हुन् ।

 

व्यवसायीको आवरणमा पुगेका पदाधिकारीहरुले काफ्लेसँग ७ पटक र मन्त्रीसँग एकपटक कुराकानी गरेका थिए, ती सबै भेटघाट र कुराकानीको दृश्य गोप्य क्यामेराबाट खिचिएको थियो । काफ्लेले साढे २ लाखमध्ये डेढ लाख पार्टीलाई र अन्य एक लाख मन्त्री, सचिव र आफूबीच बाँडफाड हुने बताएका छन् । महानिर्देशक (डीजी) लाई पनि जान्छ कि भनेर सोध्दा काफ्लेले भनेका छन्, ‘डीजीलाई दिदैँनौ, डीजीतिर टच नै गर्दैनौं ।’