दसैंको बेला मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने दुई हजार ५०९ जनामाथि कारबाही

काठमाडौं  – महानगरीय ट्राफिक प्रहरी महाशाखाले असोज ३० (घटस्थापना) देखि कात्तिक ९ गतेसम्म मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने दुई हजार ५०९ जनामाथि कारबाही गरेको छ। 


 
त्यसैगरी मादक पदार्थ सेवन गरेर लामो दूरीको गाडी चलाउने १५ जना चालकलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको महाशाखाका प्रवक्ता प्रहरी नायब उपरीक्षक पवन गिरीले जानकारी दिए ।


त्यस अवधिमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा पाँचजनाको मृत्यु हुनाका साथै आठजना गम्भीर र चारजना सामान्य घाइते भएका थिए। तीमध्ये बिहान टहल्न निस्किएका दुईजनाको माइक्रोबसको ठक्करले कीर्तिपुरमा, एकको बसको ठक्करले सीतापाइलामा र दुईको भक्तपुरमा मृत्यु भएको थियो।


अघिल्लो वर्ष घटस्थापनादेखि पूर्णिमासम्म १५८ वटा दुर्घटना भई १४ जनाको मृत्यु, २५ जना गम्भीर घाइते र ९२ जना सामान्य घाइते भएका थिए। चाडबाडको बेलामा सवारीसाधनमा हुने अत्यधिक यात्रुहरुको चापलाई व्यवस्थित तुल्याउन र मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने प्रवृत्ति रोक्न ट्राफिक प्रहरीले ठाउँठाउँमा जाँच गरेकाले यसपटक दुर्घटनाका घटनामा कमी आएको ट्राफिक प्रहरीको दाबी छ।


यसैबीच दसैँ मनाएर काठमाडौँ उपत्यका फर्कने यात्रुहरुको चाप बढ्दै गएको छ। गएका २४ घन्टामा विभिन्न नाका भएर चार हजार ७०९ सवारीसाधन उपत्यका भित्रिएका छन्।


त्यसैगरी सो अवधिमा तीन हजार ६१५ वटा सवारीसाधन उपत्यकाबाट बाहिरिएको महाशाखाका प्रहरी नायब निरीक्षक रमेश श्रेष्ठले जानकारी दिए । रासस

अन्य समाचारहरु