
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पदच्यूत गर्न अब राष्ट्रपति डा रामबरण यादवले समेत भूमिका खेल्नु पर्ने बेला आएको बताएका छन् ।
ऋषि धमलाको सभापतित्वमा गएको रिपोर्टर्स क्लब नेपालको देउसेभैली टोलीसँग कुरा गर्दै उनले प्रधानमन्त्री आफै नहटे अब विपक्षीहरुको आन्दोलनको आँधी बेहरीले हटाउने चेतावनी दिदै विपक्षीको आन्दोलनको राप र ताप सँगै राष्ट्रपतिले समेत भूमिका खेल्नु पर्ने धारणा राखे ।
प्रधानमन्त्री भट्टराई नहटेसम्म सहमतिकोलागी ठोस वार्ता हुनै नसक्ने र बजेट समेत आउन नसक्ने ठोकुवा गर्दै सहमति निर्माण र पूर्ण बजेट ल्याउन प्रधानमन्त्री भट्टराई हटेर सहमतिको नयाँ सरकार बन्नु अपरिहार्य रहेको दावी गरे ।
सहमतिको सरकार निर्माणमा सहमति भए नेकपा एमाले भावी सरकारको नेतृत्वको विषयमा खुल्ला रहेको स्पष्ट पार्दै सहमतिमा प्रधानमन्त्री जो पनि हुन सक्ने बताए । सहमतिको सरकार बने आगामि बैशाखमा निर्वाचन हुने र बजेट पनि आउने विश्वास ब्यक्त गर्दै भट्टराई सरकारले मुलुकमा अन्यौलता बढाएको, चरम भ्रष्टाचार गरेको र आर्थिक रुपमा मुलुकलाई डामाडोल पारेको आरोप लगाए ।
प्रचण्डले क्लबकै देउसी भैलोमा विपक्षीलाई बजेट ल्याउन दिएको चुनौतिलाई अर्को षडयन्त्रमुलक चाल संज्ञा दिदै संसारमा विपक्षीले कतै पनि बजेट नल्याउने प्रचण्डलाई स्मरण गराए ।
त्यस्तै रिपोर्टर्स क्लबकै देउसी भैलीसँग प्रधानसेनापति गौरब समशेर राणाले मुलुको शान्ति, स्थायीत्व र संविधान निर्माणकालागी सहमति निर्माणमा क्लबले भूमिका खेल्दै आएको प्रति आभार प्रकट गर्दै यस्ता गतिविधीले मुलुकमा सहमति निर्माण भएर निकास पाउने विश्वास ब्यक्त गरे ।
उनी क्लबको देउसे भैलीसँग छमछमी नाचेका थिए ।
त्यसैगरी पूर्व प्रधानसेनापति रुक्माङगद कटवालले शान्ति,संविधान र सहमति निर्माणमा रिपोर्टर्स क्लब नेपालको भूमिका महत्वपूर्ण रहँदै आएको भन्दै क्लबको दवाव मुलक भैलोले सहमतिकालागी सहायक भूमिका खेल्ने विश्वास ब्यक्त गरे । उनले नेपाल अखण्ड रहे मात्रै नेपाली रहने भन्दै अखण्ड नेपाल हुनु पर्ने धारणा राखे ।
देउसे भैलीसँग कटवालले नाच्दै आफै देउसे भट्याएका थिए ।
Source:Rss