काठमाडौं – एमाओवादीले आयोजना गरेको चियापान कार्यक्रममा शुभकामना दिन आएका पद्म कुँवरले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालमाथि गरेको हातपात गलत भएको उनका परिवारजनले बताएका छन्। पत्रकार भेटघाटमा कुँवरका भिनाजु भीम भारती (एमाओवादी सल्यान जिल्ला कमिटी सदस्य) ले अध्यक्षमाथिको हातपातलाई अराजकताको संज्ञा दिए।
असन्तुष्टि र आक्रोश अभिव्यक्त गर्ने यो सही बाटो होइन भन्दै उनले ‘यस्ता अराजकपूर्ण कार्य गर्ने व्यक्ति कानुन बमोजिम सजायको भागीदार बन्नुपर्ने’, उल्लेख गरे।
कुँवरका सबै परिवार एमाओवादी पार्टीमा लागेको, हाल आमाले मानसिक सन्तुलन गुमाएको, दाइको जनयुद्धताका टाउको र छातीमा लागेको गोली अहिलेसम्म निकाल्न नसकिएको र आर्थिक अवस्था ज्यादै नाजुक रहेकाले आक्रोशमा आई यस्तो कार्य गरेको हुनसक्ने भारतीको भनाइ थियो। रासस